काठमाडौं। लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यले यस वर्षको सातौँ संस्करण ‘डिजिटल डिसेम्बर २०२५’ अभियान औपचारिक रूपमा सुरु गरेको छ।
बैंकले विगतमा उपभोक्ता केन्द्रित अभियानहरू सञ्चालन गर्दै आएको भए पनि यस वर्षको संस्करण उद्यम तथा व्यवसायलाई डिजिटल रूपमा सक्षम र सशक्त बनाउने दिशामा केन्द्रित गरिएको छ। “उद्यम सशक्तिकरण” भन्ने मूल नाराका साथ प्रारम्भ गरिएको अभियानले देशभर रहेका व्यवसायिक संरचनालाई आधुनिक डिजिटल माध्यमतर्फ उन्मुख गराउने लक्ष्य राखेको बैंकले जानकारी दिएको छ।
एक महिना लामो यो अभियानले घरेलु, साना तथा मझौला उद्योग, कर्पोरेट संस्था, संघ–संस्था, खुद्रा तथा थोक व्यवसाय, स्वास्थ्य सेवा, शिक्षा, सूचना प्रविधि तथा आतिथ्य क्षेत्रलगायत विविध व्यावसायिक समूहलाई समेट्नेछ। बैंकका अनुसार, नेपालको कारोबार प्रणालीलाई डिजिटल माध्यमसँग समायोजन गराउँदै उद्यमहरूलाई नगद तथा चेकमा आधारित कारोबार घटाई सुरक्षित, द्रुत र पारदर्शी डिजिटल भुक्तानीमा रूपान्तरण गर्न प्रोत्साहित गर्नु अभियानको प्रमुख उद्देश्य हो।
अभियान अन्तर्गत बैंकले भुक्तानी प्राप्त गर्न सहज माध्यम, संघ–संस्थाका कर्मचारीहरूका लागि भर्चुअल तथा भौतिक दुवै प्रकारका कार्ड सुविधा, कर्पोरेट भुक्तानी प्रणालीसँगको एकीकरण तथा वास्तविक समयमै भुक्तानी प्राप्त भएको जानकारी दिने सेवा प्रदान गर्दै आएको छ। डिजिटल माध्यममार्फत दैनिक कारोबार गर्ने व्यवसायी तथा उद्यमीले विशेष छुट, अनुकूल सेवा तथा प्राथमिक सुविधाहरू पनि प्राप्त गर्ने बैंकले जनाएको छ।
बैंकका डिजिटल च्यानल तथा रेमिट्यान्स विभाग प्रमुख सुमन प्रसाद गेलालका अनुसार, डिजिटल डिसेम्बर २०२५ ले उद्यम भुक्तानी नवप्रवर्तनमा बैंकको अग्रणी भूमिकालाई अझ सुदृढ बनाउनेछ। उनका अनुसार, प्रभावकारी डिजिटल पूर्वाधार तथा आधुनिक भुक्तानी प्रविधिको प्रयोगले नेपाललाई डिजिटल अनुकूल, सुरक्षित तथा दीगो व्यावसायिक वातावरण निर्माणतर्फ अघि बढ्ने विश्वास बैंकले लिएको छ। यस अभियानले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहित गर्दै व्यवसायहरूलाई आधुनिककरणको दिशामा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिइएको छ।






प्रतिक्रिया दिनुहोस्