काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयको संस्थापक सेयर खरिद–बिक्रीसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। संशोधित व्यवस्था अनुसार इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयर भएका संस्थापक लगानीकर्ताले सेयर खरिद बिक्री गर्दा राष्ट्र बैंकलाई जानकारी गराउन नपर्ने भएको हो ।
राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार संस्थापक सेयर खरिद गर्ने नयाँ संस्थापकहरूले भने बैंकले तोकेको मापदण्ड तथा ‘फिट एण्ड प्रपर टेस्ट’ सम्बन्धी व्यवस्थाको अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। यद्यपि, दुई प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनीहरूले आफ्नो सेयर खण्डीकृत गरी दुई प्रतिशत वा सोभन्दा कम बनाइ उक्त सुविधा उपयोग गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ।
यसअघि संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर खरिद–बिक्रीका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक थियो। नयाँ संशोधनसँगै सीमित सेयर भएका संस्थापकहरूलाई सेयर कारोबारमा सहजता प्रदान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्