काठमाडौं । कानून विपरित सेयर कारोबारमा रमाउँदै आएका दिपेन्द्र अग्रवालको ठगीको साम्राज्य बाहिरिएको छ । उनले सामाजिक सञ्जाल, ब्रोकर र करिब डेढ दर्जन व्यक्तिको नाममा ठगी गर्दै गएको पाइएको छ ।
गत शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ परेको अग्रवालले आफुले कमाउनका लागि अन्य लगानीकर्तालाई ठग्ने कार्यलाई विभिन्न गलत सूचना प्रवाहको सहयोग लिँदै आएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकलाई सोझा लगानीकर्तालाई ठग्ने माध्यम बनाएका थिए । धितोपत्र बोर्डले गरेको अनुसन्धान अनुसार आग्रवालले जोशी हाइड्रोपावर कम्पनीबाट ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून बिपरित नाफा आर्जन गरेको पाइएको छ ।
बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर बिक्री गरेको पाइएको सीआईबीले जनाएको छ ।
अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून बिपरित नाफा आर्जन गरेको र अन्य टीएमएस प्रयोग गरी आपसी खरिद–विक्री तथा आफन्त तथा सम्बद्ध संस्था बीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पाइएको छ । अग्रवालले २०८० पुस २४ देखि माघ २९ गतेको अन्तरालमा ६३ हजार ८८८ कित्ता सेयर जम्मा गरेर राखेका थिए ।
उक्त सेयर जम्मा गरेपछि अग्रवालले २०८० फागुन २ गते सामाजिक सञ्जाल फेसबुक वाल तथा म्यासेन्जरमा भ्रामक सूचना फैलाएका थिए । अग्रवालले २०८० फागुन २२ गते सबै सेयर बिक्री गरेको अध्ययनले देखाएको छ ।
यो अवधिमा उनले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ९० पैसा नाफा कमाएको बोर्डले गरेको अध्ययनले देखाएको छ । यो रकम कानून विपरित देखिएको छ । उनले आर्जन गरेको यो नाफा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरणहरु दिने कसुर गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अग्रवालले यसरी कारोबार गर्दा आफ्नो मात्रै नभएर विभिन्न १५ व्यक्ति तथा कम्पनीको टीएमएस प्रयोग गर्ने पाइएको छ । सेबोनले गरेको अध्ययन अनुसार अग्रवालले प्रयोग गर्ने १५ वटा टीएमएस उनी सम्बद्ध व्यक्तिको रहेको छ ।
उनले सविता अग्रवाल, दिपेन्द्र अग्रवाल, ज्योती अग्रवाल, जय प्रकाश अग्रवाल, मिता मुरारका अग्रवाल, रेशु अग्रवाल, कुसुमदेवी अग्रवाल, एस मल्टिप्रपोज कम्पनी, नरेन्द्र कुमार अग्रवाल, आहान मुरारका अग्रवाल, राम सिंह साउद, मनकुमारी गुरुङ, विरेन्द्र बहादुर साउद, गोल्डम्यान इन्भेष्टमेन्ट र सीमा कुमारी अग्रवाल नामको टीएमएसबाट कारोबार गर्ने गरेको अध्ययनले देखाएको छ । उनले यी नामका टीएमएस प्रयोग गरेको र यसमा शिप्ला सेक्युरिटीजसँग ठूूलो रकम हिसाब मिलान गर्न बाँकी रहेको देखिएको छ । शिप्ला र दिपेन्द्रको विवाद धितोपत्र बोर्डसम्म पनि पुगेको थियो ।

बोर्डले गरेको अध्ययनमा भनिएको छ ‘मिति २७।०६।२०२४ देखि ०४ ।०७।२०२४ सम्म सिप्ला सेक्युरिटिज प्रा.लि.ले उक्त संस्थाको ग्लोबल आइएमइ बैंक लि.मा रहेको खाताबाट दिपेन्द्र अग्रवालको ग्लोबल आइएमई बैंक लि.मा रहेको खातामा ३८ पटक चेक मार्फत् रु. ३७, ९५,६४,०६०.३४ भुक्तानी दिएको । सोही अवधिमा दिपेन्द्र अग्रवालले निजको ग्लोबल आइएमइ बैंक लि.मा रहेको खाताबाट ज्योति अग्रवालको ग्लोबल आइएमई बैंक लि.मा रहेको खातामा २७ पटक चेक मार्फत् रु. ३६,९५,६४,०६०.३४ भुक्तानी दिएको । त्यस्तै, सोही अवधिमा ज्योति अग्रवालले निजको ग्लोबल आइएमइ बैंक लि.मा रहेको खाताबाट सिप्ला सेक्युरिटिज प्रा.लि.को ग्लोबल आइएमई बैक लि.मा रहेको खातामा २७ पटक चेक मार्फत् रु. ३६,९५,६४,०६०.३४ भुक्तानी दिएको देखिन्छ । यसबाट एउटै रकम सिप्ला सेक्युरिटिज प्रा.लि.बाट दिपेन्द्र अग्रवाल र ज्योति अग्रवालले खरिद बिक्री गरेको सेयरको रकम लेनदेन गर्न प्रयोग भएको सन्दर्भमा उक्त शेयर तथा रकमको वास्तविक धनी एकै जना हो भन्ने सक्ने आधार देखिएको ।’
यता अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको पाइएको छ । अग्रवालले २०८२ वैशाख १६ गते सेयर कारोबारको अन्तिम १५ मिनेटको कारोबार अवधिमा ४ करोड ९० लाख ३४ हजार रुपैयाँको २० हजार कित्ता सेयर कारोबार गरेको पाइएको छ । यो सेयर ज्योति अग्रवालले बिक्री गरेको र स्मार्ट डोर्स लिमिटेडले खरिद गरेको पाइएको छ । यो कारोबार उनले हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिबाट कारोबार गरेको पाइएको छ ।

स्मार्ट डोर्सको अध्यक्ष, सञ्चालक र सेयरधनी अग्रवालसँग सम्बन्धित व्यक्ति रहेको पाइएको छ । त्यो कम्पनीपनि अग्रवालको नियन्त्रणमा रहेको पाइएको छ । कम्पनीको अध्यक्ष मिता मुरारका अग्रवाल रहेकी छिन् । उक्त कम्पनीमा उनको ७६.१३ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै सञ्चालक दिपेन्द्र अग्रवालको ०.०४ प्रतिशत, सेयरधनी कुसुमदेवी अग्रवालको ०.०४ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको ०.०४ र जय प्रकाश अग्रवालको २२.१३ प्रतिशत सेयर स्वामित्व छ ।
अध्ययन अनुसार ज्योति अग्रवालको कारोबार दिपेन्द्र अग्रवालले गर्ने गरेको पाइएको छ । बोर्डले गरेको अध्ययन अनुसार अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएका छन् । जसले गर्दा धितोपत्र ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको पाइएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । अग्रवालले गोर्खाज फाइनान्समा पनि लगानीकर्तालाई झुठो सूचना फैलाएर ठगेको पाइएको छ । अग्रवालले यो कारोबार हातेमालो फाइनान्सियल सर्भिसेज प्रालि, सिप्ला सेक्युरिटिज, साउथ एसिएन बुल्स, श्रीकृष्ण सेक्युरिटिज बाट गर्ने गरेको पाइएको छ । बढी कारोबार भने हातेमालो, सिप्ला सेक्युरिटिजबाट भएको छ ।








प्रतिक्रिया दिनुहोस्