Skip to content

बैंकिङ क्षेत्रमा उच्च तरलता: २५ अर्बको ऋणपत्रमा १२ खर्ब २० अर्ब माथिको आवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पहिलो पटक ल्याएको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ मागभन्दा धेरै आवेदन परेको छ । राष्ट्र बैंकले सोमबार २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ ल्याएको छ । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले माग भन्दा ४८.८२ गुणा बढी अर्थात् १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँको आवेदन दिएका छन्।

राष्ट्र बैंकका अनुसार लिलामी प्रक्रियामा ३२ वटा बैंक तथा वित्तीय संस्थाबाट १२९ वटा बोलपत्रमार्फत उक्त रकम बराबरको आवेदन प्राप्त भएको छ । यस ऋणपत्रको औसत कुपनदर अर्थात् ब्याजदर २.६४ प्रतिशत रहेको छ।

राष्ट्र बैंकले १ वर्ष अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत तय गरिने जनाइएको छ । ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

यसको सावाँ २०८३ पुस १४ गते भुक्तानी हुने छ । ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले आवेदन दिने व्यवस्था रहेको छ । ऋणपत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले त्यसलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T