काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय सूचना इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा धेरै शङ्कास्पद कारोबार बैंकिङ क्षेत्रमा भएको देखिएको छ । पछिल्ला आर्थिक वर्षहरूमा बैंकिङ क्षेत्रमा निरन्तर रूपमा उच्च सङ्ख्यामा यस्तो कारोबार भएको पाइएको हो ।
यस अवधिमा वाणिज्य बैंक मार्फत ७ हजार ३०३ वटा शङ्कास्पद कारोबार भएको छ । बैंकको यस्तो कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकले ६ हजार १८१ पटक शङ्कास्पद कारोबार गरेको थियो ।
यसैगरी, प्रतिवेदन अनुसार यस्तो कारोबार सबैभन्दा धेरै गर्ने दोस्रो क्षेत्र विकास बैंक क्षेत्र रहेको छ । विकास बैंक क्षेत्र तर्फ आर्थिक वर्ष २०८१/८२ मा ७८० वटा यस्तो कारोबार भएको छ । यस क्षेत्रको शङ्कास्पद कारोबार पनि वर्षेनी बढ्दो अवस्था रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा सेयर कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूको यस्तो कारोबार सबैभन्दा धेरै बढेको छ । यस क्षेत्रको यस्तो कारोबार अघिल्लो आर्थिक वर्ष ५२ मात्र थियो । गत आर्थिक वर्षमा ह्वातै बढेर ४९१ पुगेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्