काठमाडौं । राष्ट्रिय सहकारी महासंघका सञ्चालक लगायत विभिन्न व्यक्ति तथा कम्पनीले लिएको ४८ लाख ८० हजार ३०० रुपैयाँ पेश्की तिरेका छैनन् ।
गत आवको असार मसान्तसम्म १ करोड ७६ लाख ८१ हजार ९३८ रुपैयाँ नोक्सानमा रहेको महासंघबाट लिएको पेश्की सञ्चालक लगायतले नतिरेका हुन् ।
महासंघको पेश्की अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवको असार असान्तमा पेश्की ४१ लाख ८६ हजार ६३४ रुपैयाँ रहेको थियो ।
महासंघबाट पेश्की लिनेमा वर्तमान सञ्चालक समेत रहेका छन् । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघबाट प्रतिनिधित्व गर्ने सञ्चालक टेक प्रसाद चौलागाईले ३३ हजार ९०० रुपैयाँ पेश्की लिएका छन् ।
यस्तै पूर्वसञ्चालक समिति सदस्य कुलचन्द्र अधिकारीले अघिल्लो वर्ष नै तिर्न बाँकी रहेको १ लाख १० हजार ५१४ रुपैयाँ पेश्की गत आवको असार मसान्तसम्म पनि फछ्यौट गरेका छैनन् ।
यस्तै महासंघका अनु्सार गत आवको असार मसान्तसम्म ललितपुरका भाइचा महर्जनले २ लाख ५० हजार पेश्की तिरेका छैनन् । अघिल्लो आवको सोही अवधिमा पनि उनको सोही रकम पेश्की बाँकी थियो ।
यता खड्ग बहादुर श्रेष्ठले ३ लाख ९८ हजार ८१ रुपैयाँ पेश्की तिरेका छैनन् । अघिल्लो आवको सोही अवधिमा पनि उनले सोही रकम बराबरको पेश्की तिर्न बाँकी राखेका थिए ।
यस्तै रामकृष्ण अमात्यले अघिल्लो वर्षदेखि नै २ लाख ९० हजार ६०० रुपैयाँ पेश्की फर्छयौट गरेका छैनन् । दिपु खड्का (डिप्लोमा पाठयक्रम) ले पनि २५ हजार पेश्की तिर्न बाँकी रहेको महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्