काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सभा कम्पनीकी अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो।
सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र कोभिड महामारी र भूराजनीतिक तनावका बाबजुद क्रमशः लचिलो बन्दै गएको बताए। उनका अनुसार पछिल्लो समय मुद्रास्फीति घट्दै गएकाले विश्वका अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अपनाएका छन्।
नेपालको सन्दर्भमा आर्थिक वर्ष २०८१÷८२ मा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान भए पनि आगामी वर्ष राजनीतिक तथा सामाजिक अनिश्चितताका कारण वृद्धिदरमा दबाब पर्न सक्ने उनले उल्लेख गरे।
आर्थिक वर्ष २०८१÷८२ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको जनाउँदै अध्यक्ष सिंहले कुल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २ खर्ब २५ अर्ब ९९ करोड रुपैयाँ पुगेको जानकारी दिए। सो अवधिमा कम्पनीले १ खर्ब ४९ अर्ब ८८ करोड रुपैयाँ बीमा करार दायित्वमा थप गरेको छ। कुल बीमा करार दायित्व अघिल्लो वर्षको तुलनामा १८.८३ प्रतिशतले बढेर ९ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
समिक्षा वर्षमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति, समर्पण मूल्य तथा अन्य दाबी भुक्तानीमा ९४ अर्ब ८६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ। लगानीतर्फ कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७ खर्ब ७९ अर्ब २० करोड रुपैयाँ पुगेको छ। लगानीबाट प्राप्त औसत प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको कम्पनीले जनाएको छ। दीर्घकालीन स्थायित्वका लागि सुरक्षित तथा नियामक निकायले निर्देशित क्षेत्रभित्र रहेर लगानी गरिएको अध्यक्षको भनाइ छ।
लगानी विविधिकरणको क्रममा कम्पनीले हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाखभन्दा बढी संस्थापक सेयर खरिद गरी बैंकमा आफ्नो स्वामित्व १३.६१ प्रतिशत पुर्याएको छ। साथै, सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेड सञ्चालनमा आई पहिलो पटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी पनि सभामा दिइयो।
३८औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ का लागि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४७ करोड रुपैयाँको आधारमा ८.५ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर लाभांश पारित गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ, जसले नियामक निकायले तोकेको न्यूनतम पूँजी आवश्यकता पूरा गरेको छ।
सभामा अध्यक्ष सिंहले आगामी दिनमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी जीवन बीमा क्षेत्रमा अग्रणी बीमकका रूपमा आम नागरिकको जीवन बीमा आवश्यकतामा योगदान पुर्याउँदै अघि बढ्ने विश्वास व्यक्त गरे ।








प्रतिक्रिया दिनुहोस्