Skip to content

केटीएम हस्पिटालिटीले आईपीओ ल्याउने

nabil bank

काठमाडौं । चितवनको सौराहामा पाँच तारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटी लिमिटेडले १५ करोड ५० लाख रुपैयाँको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ।

बुधबार सम्पन्न कम्पनीको दोस्रो साधारण सभाले पुँजी संरचना परिवर्तनसहित आइपिओको महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आईपीओ निष्कासनको प्रस्तावलाई स्वीकृति दिएको हो।

पारित प्रस्ताव अनुसार कम्पनीको नयाँ पुँजी संरचना पनि तयार पारिएको छ। अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहने छ। कम्पनीले १५ करोड ५० लाख रुपैयाँको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो। यो भनेको कम्पनीको कुल चुक्ता को पुँजी २० प्रतिशत हो।

हाल केटीएम हस्पिटालिटीले चितवनको सौराहामा ६५ कोठा क्षमताको पाँच तारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको छ। पर्यटकीय गन्तव्यका रूपमा चर्चित सौराहामा सञ्चालित यो लक्जरी रिसोर्टले होटल व्यवसायमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ।

साधारण सभामा केटीएम ग्रुपको ब्राण्ड एम्बेसेडर वरिष्ठ कलाकार सन्तोष पन्तको विशेष उपस्थिति रहेको थियो। यस्तै, कम्पनीले नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।

संस्थाका अध्यक्ष रामेश्वर शाहले नेपालको आथित्यता उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताए। हस्पिटालिटी क्षेत्रमा निरन्तर लगानी बढ्नुले यो क्षेत्रमा सम्भावनालाई उजागर गरेको अध्यक्ष शाहको भनाइ छ।

त्यसैगरी, उनले केटिएम हस्पिटालिटीमा सर्वसाधारणलाई समेत सहभागिता गराएर अघि बढ्न लागेको बताए। ‘सर्वसाधारणलाई पनि पार्टनरसीप बनाएर लैजान २० प्रतिशत आइपिओ ल्याउन लागेका हौं’ उनले भने।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको पर्यटन क्षेत्रले उल्लेखिय रुपमा फड्को मारेको बताए। पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि केन्द्रीय बैंकले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ। कोभिडका बेला होस्, वा जेनजी आन्दोलनका क्रममा यस क्षेत्रमा पुगेको क्षतिलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले निर्देशनमार्फत काम गरेको बताए।

केटीएम हस्पिटालिटीको आईपीओ निष्कासन नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा महत्वपूर्ण कदम मानिएको छ। यसले होटल उद्योगमा सार्वजनिक लगानी बढाउने र पर्यटन पूर्वाधार विस्तारमा योगदान र्पुयाउने अपेक्षा गरिएको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life