काठमाडौं । सेटलमेन्ट ग्यारेन्टी फन्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै धितोपत्र बजारमा देखिन सक्ने प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालबीच संयुक्त छलफल भएको छ ।
बिहीबार सेबोनको कार्यालय खुमलटारमा बैंठक सम्पन्न भएको हो । उक्त बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनका लागि आवश्यक कार्ययोजनासहितको समयसीमाबारे विस्तृत छलफल गरिएको थियो ।
सेटलमेन्ट सुनिश्चितता सुदृढ गर्दै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले जोखिम व्यवस्थापन, डिफल्ट व्यवस्थापन तथा सम्बन्धित निकाय र धितोपत्र व्यवसायीहरूको भूमिकाबारे सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए ।
बजारको स्थायित्व तथा लगानीकर्ताको हित संरक्षणका लागि सेटलमेन्ट ग्यारेन्टी फन्ड अपरिहार्य रहेको निष्कर्ष निकाल्दै बैठकमा नेप्से र सीडीएससीले प्रणाली तथा क्लियरिङसम्बन्धी हालसम्मको तयारी प्रस्तुत गरेका थिए । त्यसैगरी ब्रोकर एशोसिएशनले बजार सञ्चालनको व्यवहारिक अनुभवका आधारमा आवश्यक सुझावहरू राखेको थियो ।
सेटलमेन्ट ग्यारेन्टी फन्डको सहज र प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा थप प्राविधिक छलफल गर्दै सबै सरोकारवाला निकायबीच समन्वयात्मक रूपमा अघि बढ्ने सहमति बैठकले गरेको छ ।








प्रतिक्रिया दिनुहोस्