काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट ५ लाख रुपैयाँभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा एकाउन्टपेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
संशोधित निर्देशनअनुसार अब चेकमार्फत कारोबार गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणका उद्देश्यलाई ध्यानमा राख्दै ५ लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक प्रयोग गर्नुपर्नेछ ।
यसअघि यस्तो व्यवस्था १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र लागू हुँदै आएको थियो । तर हाल राष्ट्र बैंकले सीमा घटाएर ५ लाख कायम गरेपछि नगद कारोबार निरुत्साहित हुने र वित्तीय पारदर्शिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
राष्ट्र बैंकले यस कदमले अवैध वित्तीय कारोबार नियन्त्रण गर्न, वित्तीय प्रणालीलाई सुरक्षित बनाउन तथा मनी लाउन्डरिङ जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशनको कडाइका साथ पालना गर्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ ।








प्रतिक्रिया दिनुहोस्