काठमाडौं । पुस २९ गते सिन्धुली जिल्ला ध्याङलेख गाँउपालिका–२ मा रहेको एसबिआई बैंकको शाखा लुटने योजना करिब तीन महिना अघिदेखी बनाइएको पाइएको छ ।
बैंकले लुटनका शाखा कार्यालय रहेका घरधनी छविलाल स्याङतान नै यसमा संलग्न रहेको पाइएको छ । उनले तीन महिनाअघिदेखि बैंक लुटने योजना बनाएको भएपनि धेरै पटक प्रयास गरेपछि पुस २९ गते साँझ साढे ७ बजे सफल भएको प्रहरीको अनुसन्धानले देखाएको छ । बैंक लुटन नक्कली प्लास्टिकको पेस्तोलको प्रयोग भएको पाइएको छ । प्रहरीले नक्कली पेस्तोल फेला पारेको छ ।
बैंकबाट ३ करोड ७ लाख लुटिएको थियो । लुटपाट भएपछि पुस २९ गते राति जङ्गलको विभिन्न स्थानहरुमा बोरामा लुकाई राखेको र छरपष्ट अवस्थामा छरिएको १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ फेला परेको थियो ।
अहिलेसम्म २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ फेला परेको छ ।
प्रहरीले पुस ३० गते सिन्धुली घ्याङलेख गाउँपालिका वडा-१ सुकाचुरीबाट ४ जना शंकाष्पद व्यक्तिहरुलाई पक्राउ गरी खानतलासी गर्दा उनीनिजहरुको साथबाट ५ लाख ९ हजार ६७५ रुपैंयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।
उनका अनुसार उनीहरुले घटनामा संलग्न भएको स्वीकार गरेका थिए । साथै उनिहरुले दिएको बयानको आधारमा थप ८३ लाख ३५ हजार रकम भेट्नुका साथै घटनामा प्रयोग भएको नकाब, पञ्जा, नक्कली प्लाष्टिकको पेस्तोल थान-१ लगायत घटनामा निजले प्रयोग गरेका कपडा समेत बरामद गरेको थियो । यति मात्रै नभएर घटनाको मुख्य योजनाकार समेत पहिचान भएको थियो ।
पक्राउ परेका व्यक्तिहरुको प्रारम्भिक बयान तथा प्राविधिक विश्लेषण पश्चात् उक्त घटनामा चतुरमान बज्यु र उक्त बैंक रहेको घरधनी समेतको संलग्नता रहेको देखिएकोमा घरधनी छविलाल स्याङ्तानलाई तत्काल पक्राउ गरिएको थियो ।
माघ १ गते चतुरमान बज्युलाई जिल्ला सिन्धुली घ्याङलेख गाउँपालिका वडा-१ स्थित जङगल आसपासमा लुकिछिपी बस्दै आएकोमा खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युका अनुसार उनिहरुले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाई सोही अनुसारको तयारी तथा सूचना संकलन गरेको खुल्न आएको छ । पुस २३ गते उक्त बैंक लुट्न भनी काठमाण्डौबाट २ वटा मोटरसाईकल भाडामा लिई हाल पक्राउ परेका मध्येका ४ जना आएको र उक्त दिन परिस्थिति अनुकुल नभएकाले उक्त बैंक लुट्ने योजना विफल भएको थियो ।
पुस २८ गते उक्त बैंक लुट्ने योजना सहित काठमाण्डौको कोटेश्वरमा जम्मा भएको र उक्त दिन ढिला भएकाले पुनः २९ गते कोटेश्वरमा जम्मा भई पब्लिक सवारी साधनमा बनेपासम्म आएको र बनेपाबाट टाटा सुमो भाडामा लिई घ्याङलेख तर्फ आएको प्रहरीले जनाएको छ ।
उक्त बैंक लुटपाट गर्न घरधनी छविलाल स्याङ्तानले आवश्यक हातहतियारको व्यवस्थापन तथा सूचना प्रदान र निर्देशन दिएको खुल्न आएको छ । पुस २९ गते साँझको समयमा पक्राउ परेकाहरुले बैंक भित्र प्रवेश गरी सुरक्षा गार्ड र बैंकको कर्मचारीहरुलाई नियन्त्रणमा लिई शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाई बैंकमा भएको पैसा बोरा तथा झोला हालेर भागेका थिए । भाग्ने क्रममा प्रहरी तथा स्थानीय मानिसहरुको सक्रियताले लुटी लगेको पैसा जङ्गल तिर लुकाई छिपाई भागेकोमा बरामद गर्न तथा पक्राउ गरेको हो ।
पुस २९ गते साँझ साढे ७ बजे सिन्धुली घ्याङलेख गाउँपालिका वडा-२ हायुटार स्थितमा रहेको एसबिआई बैक शाखा कार्यालयमा लुटपाट गर्नेलाई प्रहरीले उनीहरुले बैकको गार्ड रुद्र बहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीहरु समेतलाई नियन्त्रणमा लिई खुकुरी समेत प्रहार गरी घाईते बनाएका थिए ।
इलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुलीबाट खटिएको टोली घटनास्थलमा २ वटा कोठामा बैंकको कर्मचारीहरु र बैंकको सुरक्षा गार्ड नियन्त्रणमा लिई हात खुट्टा बाँधी, मुखमा टेप टाँसिएर राखेका थिए ।
प्रहरीले स्थानीयको सहयोग तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षकको कमाण्डमा गएको ५० जना प्रहरी परिचालनले खोजी गरेको थियो ।
प्रहरी टोली तथा स्थानीय मानिसहरु समेतको सहभागितामा शंकाष्पद स्थानमा ब्यापक खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब २ किमी पूर्व लिपिखोलामा बीएडी ०३९८ टाटा सुमो र चालक भागवत सिंह थापालाई फेला पारेको थियो । थापाले ६ जनाले विवाहको लागि भनी उक्त टाटा सुमो काभ्रे जिल्लाको बनेपाबाट सोही दिन रिजर्व गरी ल्याएको बताएका थिए ।
प्रहरीले तत्काल सुमो र सुमो चालकलाई नियन्त्रणमा लिई अनुसन्धान तथा सोधपुछ गरेको थियो । यो घटनामा संलग्नलाई २९ गतेबाट लागू हुने गरी सिन्धुली जिल्ला अदालतबाट पक्राउ प्रतिवादीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिन म्याद थप भई अनुसन्धान भईरहेको छ ।
उनीहरुबाट २ करोड ६८ लाख ५५ हजार १७५ रुपैंयाँ, खुकुरी २ थान, प्लाष्टिकको पेस्तोल १ थान, मोबाईल ५ थान, ठुलो पानी टेप (प्रयोग) भएको १ थान, कालो रङको नकाब ३ थान र रातो रङको नकाब १ थान बरामद भएको छ ।
घटनामा संलग्न काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१० का भागवत सिंह थापा, सिन्धुली जिल्ला ध्याङलेख गाँउपालिका–२ का चतुरमान बज्यु, सोही स्थानका छविलाल स्याङतान, चितवन जिल्ला भरतपुर महानगरपालिका–२ का शंशाक श्रेष्ठ, नुकावोट जिल्ला पञ्चकन्या गाँउपालिका–५ का मिलन गिरी, सोही स्थानका विवेक मगर र एक जना १६ वर्षका व्यक्ति रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्