काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा ६ वाणिज्य बैंकले कुल ७ अर्ब ४१ करोड ९४ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये यी ६ बैंकले मात्र हालसम्म आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरणअनुसार ६ बैंकको कुल नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.२२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा यी बैंकले ८ अर्ब १७ करोड ३३ लाख ९९ हजार रुपैयाँ नाफा कमाएका थिए ।
६ बैंकमध्ये सबैभन्दा धेरै नाफा कमाउने बैंक एभरेष्ट बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा जुन अघिल्लो वर्षको तुलनामा २.०४ प्रतिशतले वृद्धि भएको हो ।
त्यसैगरी नेपाल बैंकले १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाउँदै सबैभन्दा धेरै वृद्धि गर्ने बैंक बनेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १८३.०४ प्रतिशतले बढेको छ ।
माछापुच्छ्रे बैंकले चालु वर्षको ६ महिनामा १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २५.२५ प्रतिशतले वृद्धि भएको हो ।
यस अवधिमा केही बैंकको नाफा भने घटेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ४३.०५ प्रतिशतले कमी हो ।
प्रभु बैंकको नाफा १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस बैंकको नाफा गत आवको तुलनामा ज२४.०८ प्रतिशतले घटेको छ ।
त्यस्तै सिटिजन्स बैंकले ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४५.७८ प्रतिशतले घटेको हो ।








प्रतिक्रिया दिनुहोस्