काठमाडौं । पुस मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३२४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस्तो सञ्चिति असार मसान्तको २६७७ अर्ब ६८ करोड रुपैयाँको तुलनामा २१.१ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा हेर्दा यो २२ अर्ब ४७ करोड पुगेको छ, जुन १५.२ प्रतिशतले बढेको हो।
कुल विदेशी विनिमय सञ्चितिमा राष्ट्र बैंकसँग रहेको हिस्सा २८८४ अर्ब ८ करोड रुपैयाँ कायम छ, जुन अघिल्लो वर्षको सोही अवधिको २४१४ अर्ब ६४ करोड रुपैयाँको तुलनामा १९.४ प्रतिशतले वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति ३५८ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ, जुन ३६.२ प्रतिशतले बढेको हो।
२०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ। विदेशी विनिमय सञ्चितिको पर्याप्तता सूचकले पनि देशको आर्थिक सुरक्षा देखाएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनासम्मको आयातको आधारमा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५३.१ प्रतिशत, कुल आयातसँग १५०.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४०.५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।












प्रतिक्रिया दिनुहोस्