काठमाडौं । नेपालले माघ महिनामा करिब साढे दुई अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारी साधन (ईभी) आयात गरेको छ । चालु आर्थिक वर्षको ७ महिनासम्म आउँदा नेपालमा १५ अर्ब २८ लाख ६७ हजार रुपैयाँ बराबरको ईभी आयात भएको हो ।
गत पुस मसान्तसम्म १२ अर्ब ५१ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको ईभी आयात भएको थियो । एक महिनाको अवधिमा २ अर्ब ४८ करोड ३१ लाख ८७ हजार रुपैयाँ बराबरको ईभी आयात भएको छ ।
ईभी आयातबाट सरकारले माघ मसान्तसम्म ८ अर्ब ८६ करोड ६३ लाख १८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । ईभी आयात बढेसँगै सरकारले यसबाट प्राप्त गर्ने राजस्व पनि बढेको छ । पुस मसान्तसम्म सरकारले यस्तो बस्तु आयातबाट ७ अर्ब ६२ करोड १३ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चालु आवको ७ महिनामा विभिन्न देशबाट कुल १७ हजार १२४ वटा ईभी आयात भएका छन् । भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा बढी यस्तो सवारी चीनबाट भित्रिएका छन्। चीनबाट मात्रै १४ हजार ४७९ वटा विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।
चीनबाट एसेम्बल नगरिएका ६ हजार ४२ वटा र एसेम्बल गरिएका ४ हजार २३३ वटा विद्युतीय तीन पाङ्ग्रे सवारी आयात भएका छन् । यसैगरी, ५० किलोवाटसम्म क्षमताका १ हजार २५६ वटा कार, जीप तथा भ्यान आयात भएका छन्। चीनबाटै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका २ हजार ५०२ वटा, १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका ४४२ वटा तथा २०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताका ४ वटा सवारी आयात भएको भन्सार विभागले जनाएको छ।
यसैगरी, ईभी आयात दोस्रो ठुलो स्रोतका रूपमा रहेको भारतबाट कुल २ हजार २१८ वटा विद्युतीय सवारी भित्रिएका छन्। भारतबाट ११७ वटा एसेम्बल नगरिएका र ८३६ वटा एसेम्बल गरिएका तीन पाङ्ग्रे सवारी आयात भएका छन्। ५० किलोवाटसम्म क्षमताका ७३६ वटा (साथै २ वटा एसेम्बल नगरिएका) कार, जीप तथा भ्यान आयात भएका छन् भने ५१–१०० किलोवाट क्षमताका ४९८ वटा र १०१–२०० किलोवाट क्षमताका २९ वटा सवारी भित्रिएका छन्।
यसैगरी, थाइल्याण्डबाट ५१–१०० किलोवाट क्षमताका ४०१ वटा सवारी आयात भएका छन्। संयुक्त राज्य अमेरिकाबाट १०१–२०० किलोवाट क्षमताका १० वटा र २०१–३०० किलोवाट क्षमताका २ वटा गरी १२ वटा सवारी आयात भएका छन्। जर्मनीबाट १० वटा, दक्षिण कोरियाबाट २ वटा, अष्ट्रियाबाट १ वटा तथा संयुक्त अधिराज्यबाट १ वटा विद्युतीय सवारी आयात भएको छ।
प्रतिक्रिया दिनुहोस्