काठमाडौं । ‘पछिल्लो समय अनलाइन माध्यमबाट धेरैले किनमेल गर्ने थालेका छन्। अनलाइन मार्फत किनमेल बढेसँगै सामाजिक सञ्जालमा नक्कली अकाउन्ट बनाएर ठगी गर्ने प्रवृत्ति पनि बढिरहेको छ। मेरो साथी पनि यस्तो घटनामा परेको थियो।‘ यो भनाई कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुस्मिता श्रेष्ठको हो ।
‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा नबिल बैंकले आयोजना गरेको विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता अभियान कार्यक्रममा श्रेष्ठले सुरक्षित डिजिटल कारोबार बारे जिज्ञासा राख्ने क्रममा यस्तो भनाइ राखेकी हुन्।
काठमाडौंको बुढानीलकण्ठस्थित महाकाल जनजागृति माध्यमिक विद्यालयमा सोमबार बिहान आयोजित वित्तीय साक्षरता कार्यक्रम उनले आफ्नो अनुभव सुनाउँदै त्यस्ता ठगी हुने गरेको थाहा भएपनि कसरी बच्ने भन्ने बारे यसअघि जनाकारी नभएको बताइन्। ‘आजको यस कार्यक्रमले मलाई यस्ता ठगीबाट कसरी बच्न सकिन्छ भन्ने उपयोगी ज्ञान दिएको छ,’ कार्यक्रमपछि उनले भनिन्।
कार्यक्रममा बैंकका प्रतिनिधिहरूले बैंकिङ प्रणालीदेखि डिजिटल कारोबार र साइबर सुरक्षासम्मका विषयमा जानकारी दिएका थिए। यस्ता सान्दर्भिक र उपयोगी विषयमा जानकारी पाएको भन्दै विद्यार्थीहरू उत्साहित देखिएका थिए ।
ग्लोबल मनी विक मुलत किशोर किशोरी तथा युवा युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा मनाउने अभियान हो। यस वर्षको ग्लोबल मनी विकको मुख्य नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ। यसैलाई आत्मसाथ गर्दै बैंकले विभिन्न शाखा कार्यालयबाट साताव्यापी वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गरिरहेको छ।
सोमवार आयोजित कार्यक्रममा सहभागी धेरै विद्यार्थीहरूका प्रश्नहरू पनि व्यवहारिक जीवनसँग जोडिएका थिए। कसैले बैंकबाट कर्जा कसरी लिने भन्ने सोधे भने कसैले धितोका रूपमा कस्ता सम्पत्ति राख्न सकिन्छ भन्ने जिज्ञासा राखे। यस्तै जिज्ञासामध्ये जनजागृति माध्यमिकमा कक्षा ११ मा अध्ययनरत बिबोस गुरुङको प्रश्न भने भविष्यको उद्यमशीलतासँग जोडिएको थियो।
‘स्टार्टअप सुरु गर्न चाहने युवाले बैंकबाट कर्जा कसरी प्राप्त गर्न सक्छन्’ गुरुङले आफ्नो जिज्ञासा राखे। जसमा बैंकका प्रतिनिधिहरूले चित्त बुझ्दो जवाफ दिएको भन्दै उनी खुसी देखिन्थे।
बैंकका अनुसार चैत २ देखि ८ गतेसम्म देशभर रहेका आफ्ना विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ । ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस अभियानअन्तर्गत सातै प्रदेशका विद्यालय र कलेजमा पुगेर विद्यार्थीहरूलाई वित्तीय ज्ञान, बचत संस्कार, डिजिटल कारोबार तथा साइबर सुरक्षासम्बन्धी जानकारी प्रदान गरिने बैंकले जनाएको छ।
सप्ताहव्यापी अभियानको पहिलो दिन सोमबार काठमाडौं लगायत देशका अन्य स्थानका विद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमका क्रममा बैंकका प्रतिनिधिहरूले विद्यार्थीलाई विशेष गरी बचत, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका उपयोगी विषयमा जनाकारी गराइएको हो।
कार्यक्रमको अन्त्यमा महाकाल जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवदत्त जोशीले यस्ता व्यवहारिक ज्ञान दिने कार्यक्रम विद्यार्थीका लागि निकै उपयोगी रहेको बताए। ‘अहिलेको कार्यक्रम विशेष रूपमा आवश्यक रहेको महसुस भयो,’उनले भने, ‘अहिले डिजिटल प्रविधिको प्रयोग धेरै बढेको छ, जसका कारण साइबर जोखिम पनि बढिरहेको छ। यस्तो अवस्थामा विद्यार्थीहरूलाई सचेत गराउने कार्यक्रम निकै प्रभावकारी हुन्छ।’
प्रतिक्रिया दिनुहोस्