काठमाडौं । नेपाल–नेपालको शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीचको दुरी कम गर्ने उद्देश्यका साथ टेकपाइला इनोभेसन प्रालि र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
साझेदारीले विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स र साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिहरूमा दक्ष बनाई उनीहरूको वृत्तिविकासमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
बिहीबार कलेजको प्राङ्गणमा आयोजित एक कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी र कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
यो सहकार्यले उच्चस्तरीय प्राविधिक तालिम र व्यावसायिक विकासका लागि एउटा मजबुत खाका तयार गरेको छ । विश्वव्यापी बजारमा एआई र साइबर सुरक्षा विज्ञहरूको माग बढिरहेको सन्दर्भमा, यो साझेदारीले नेपाली विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी उद्योगका लागि तयार बनाउने विश्वास लिइएको छ ।
टेकपाइलाले एआई र साइबर सुरक्षामा केन्द्रित रहेर केसीसीका विद्यार्थी र प्राध्यापकहरूका लागि विशेष प्राविधिक कार्यशाला र सेमिनारहरू सञ्चालन गर्नेछ। योग्य विद्यार्थीहरूले टेकपाइलामा प्रत्यक्ष काम गर्ने अनुभवप्राप्त गर्नुका साथै संस्थाको नेटवर्कभित्र रहेका विभिन्न उद्योगहरूमा रोजगारीको अवसर समेत पाउनेछन् ।
दुवै संस्थाले मिलेर कलेजको पाठ्यक्रमलाई वर्तमान समयको माग र विश्वव्यापी प्रविधि मापदण्ड अनुसार परिमार्जन गर्न सहयोग गर्ने जनाएको छ । विद्यार्थीहरूमा रचनात्मक सोचको विकास गर्न संयुक्त रूपमा ‘ह्याकाथन’, ‘आइडिया फेस्ट’ र उद्योग-शिक्षा संवादहरू आयोजना गरिने जनाएको छ ।
सम्झौता कार्यक्रममा चिरञ्जीबी अधिकारीले प्रविधिको क्षेत्रमा प्रयोगात्मक अभ्यासको महत्वमा जोड दिए । साझेदारी स्थानीय प्रविधि इकोसिस्टमका लागि एक महत्वपूर्ण कोशेढुङ्गा हुने जनाइएको छ । पाठ्यक्रमलाई आधुनिक बनाउनु र विद्यार्थीहरूलाई वास्तविक समस्या समाधान गर्न आवश्यक पर्ने मेन्टरसिप र उपकरणहरू प्रदान गर्नु सम्झौताको उद्देश्य रहेको जनाइएको छ
कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले कलेज उत्कृष्ट स्रोत र साधन उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । ‘केसीसी सधैं सूचना प्रविधि शिक्षामा अग्रणी रहेको छ। टेकपाइला इनोभेसनसँगको यो सहकार्यले हाम्रा विद्यार्थीहरूलाई विशेष प्रयोगशाला, विज्ञहरूको मार्गदर्शन र उद्योगले मान्यता दिएका प्रमाणपत्रहरू प्राप्त गर्न मद्दत गर्नेछ, जसले उनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनेछ’ सम्झौतामा उल्लेख छ ।
सम्झौताले सुरक्षा अडिट र सामाजिक प्रभावका लागि एआईमा आधारित समाधानहरू विकास गर्न समेत सहयोग गर्ने उल्लेख छ । यो सम्झौता सुरुमा दुई वर्षका लागि गरिएको छ । भविष्यमा यसलाई थप विस्तार गर्दै लैजाने दुवै पक्षको प्रतिबद्धता रहेको छ।












प्रतिक्रिया दिनुहोस्