काठमाडौं । महालेखापरीक्षकको कार्यालयका अनुसार एक इन्टरनेट सेवा प्रदायक कम्पनीले कर छलेको पाइएको छ ।
आयकर ऐन, २०५८ को दफा १३ मा यो वर्षको खर्च मात्र आयकर प्रयोजनको लागि खर्च कट्टी गर्न पाउने उल्लेख छ । ठुला करदाता कार्यालयअन्तर्गतको एक इन्टरनेट सेवा प्रदायकले २०८०।८१ मा ४३ लाख २४ हजार नोक्सानीको आय विवरण पेस गरेको छ ।
विगत वर्षहरूमा मर्मत सम्भार लगायतको शुल्क बाहेकको अन्य रकमको मात्र रोयल्टी र ग्रामीण दूरसञ्चार विकास दस्तुर बुझाएकोमा कानुनमा भएको व्यवस्थाको प्रतिकूल हुने गरी आंशिक रकमको मात्र ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास दस्तुर बुझाएको छ ।
विगत वर्षसम्मको रोयल्टी र ग्रामीण विकास शुल्क १ अर्ब २१ करोड ६८ लाख ५९ हजारलाई यस आय वर्षमा खर्च कट्टी लिएकोले उक्त खर्च कट्टी ऐनको दफा १३ अनुसार खर्च कट्टी नपाउने प्रतिवेदनमा उल्लेख छ । उक्त खर्च कट्टी अमान्य गरी ४३ लाख २४ हजार नोक्सानी समायोजन गरी बाँकी १ अर्ब २१ करोड २५ लाख ३५ हजारको ३० प्रतिशत आयकर ३६ करोड ३७ लाख ६१ हजारमा ब्याज तथा शुल्कसमेत छानबिन गरी असुल गर्न निर्देशन दिएको छ ।












प्रतिक्रिया दिनुहोस्