काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले पहिलोपटक लण्डनमा आयोजित “एकाउन्टेक्स लण्डन २०२६” तथा “एफडी शो २०२६” मा संस्थागत प्रदर्शनीमार्फत सहभागिता जनाएको छ।
मे १३ र १४ मा आयोजित उक्त कार्यक्रममा आइक्यानले आफ्नै स्टल राखेर नेपाललाई लेखा तथा वित्तीय सेवा आउटसोर्सिङका लागि सक्षम गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गरेको थियो। यो प्रदर्शनी विश्वकै सबैभन्दा ठूलो लेखा तथा वित्तीय प्रदर्शनीमध्ये एक मानिन्छ।
आइक्यानका अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, काउन्सिल सदस्य तथा कार्यकारी निर्देशकसहितको प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी भएको थियो। सहभागिताको मुख्य उद्देश्य नेपाललाई “नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ)” अन्तर्गत लेखा तथा वित्तीय सेवा प्रदान गर्ने प्रतिस्पर्धी मुलुकका रूपमा स्थापित गरेका थिए ।
प्रदर्शनीमा १६ हजारभन्दा बढी प्रतिनिधि, ३०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रदर्शक तथा २४० व्यावसायिक विकाससम्बन्धी सत्र सञ्चालन भएका थिए। यस क्रममा आइक्यानले अन्तर्राष्ट्रिय लेखा व्यवसायी, नियामक निकाय तथा वित्तीय प्रविधिसँग सम्बन्धित संस्थासँग भेटघाट र छलफल गरेको थियो।
आइक्यानको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय ध्यान आकर्षित गर्नुका साथै नेपालबाट लेखा सेवा आउटसोर्सिङ गर्न सकिने सम्भावनाबारे सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। नेपालले प्राविधिक क्षमता, संस्थागत सुशासन तथा डाटा सुरक्षा मापदण्डलाई अझ सुदृढ गर्न सकेमा नेपालबाट व्यावसायिक लेखा सेवा निर्यात गर्ने ठूलो सम्भावना रहेको निष्कर्ष निकालिएको छ।
आइक्यान प्रतिनिधिमण्डलले बेलायतस्थित नेपाली लेखा व्यवसायी तथा अन्तर्राष्ट्रिय लेखा संस्थासँग पनि उच्चस्तरीय बैठक गरेको थियो। बेलायतस्थित नेपाली एकाउन्टेन्टहरूको संस्था (एनएए यूके) सँग नेपाल–बेलायतबीच लेखा तथा वित्तीय सेवा आउटसोर्सिङका अवसरबारे छलफल भएको थियो। बेलायतमा रहेका नेपाली पेशाकर्मीमार्फत बेलायती लेखा कार्य नेपालमा ल्याउन पहल गर्ने विषयमा समेत सहमति भएको थियो।
त्यसैगरी एसीसीए तथा आईसीएईडब्ल्यूजस्ता अन्तर्राष्ट्रिय संस्थासँग आपसी सहकार्य, व्यावसायिक विकास तथा पारस्परिक मान्यता सम्बन्धी विषयमा छलफल गरिएको थियो। आइक्यान प्रतिनिधिमण्डलले बेलायतस्थित नेपाली दूतावासद्वारा आयोजित “बेलायत–नेपाल सहकार्य स् लगानी तथा अकाउन्टिङ आउटसोर्सिङको सम्भावना” विषयक विशेष सम्मेलनमा पनि भाग लिएको थियो।
सम्मेलनमा बेलायतका व्यवसायी, नियामक तथा लेखा पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेपालमा आउटसोर्सिङ गर्दा प्राप्त हुने आर्थिक लाभ, समय क्षेत्रको अनुकूलता तथा नेपालमा रहेको दक्ष जनशक्तिबारे प्रस्तुति गरिएको थियो।
आइक्यानका अनुसार लण्डनमा सम्पन्न यी गतिविधिले नेपालको लेखा पेशालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यसले नेपाली पेशाकर्मीलाई स्वदेशमै बसेर अन्तर्राष्ट्रिय सेवा प्रदान गर्ने अवसर सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जन र रोजगारी वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
संस्थाले भविष्यमा आवश्यक नीतिगत सुधार, अन्तर्राष्ट्रिय प्रवद्र्धन, आधुनिक अकाउन्टिङ सफ्टवेयरको प्रयोग तथा नियामक संरचना सुदृढीकरणमार्फत नेपाललाई विश्वस्तरीय अकाउन्टिङ आउटसोर्सिङ गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।












प्रतिक्रिया दिनुहोस्