काठमाडौ । नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठूला छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशनबीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ ।
क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आज आइतबार (जेठ १७ गते) दुवै संस्थाको उच्च नेतृत्व तहबीच एक महत्वपूर्ण ‘संस्थागत गठबन्धन छलफल’ सम्पन्न भएको हो ।
मोबाइल इकोसिस्टमको सुधार र नीतिगत पैरवीबैठकमा विशेषगरी नेपालको मोबाइल क्षेत्रले भोगिरहेको नीतिगत अस्पष्टता, अनधिकृत च्यानलबाट भित्रिने मोबाइल (ग्रे मार्केट) का चुनौतीहरू र समग्र हार्डवेयर तथा मोबाइल इकोसिस्टमको नियमनका विषयमा विस्तृत छलफल भएको थियो ।
क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशनका अध्यक्ष रघु त्रिपाठीले संयुक्त रूपमा यो सहकार्यले नेपाली मोबाइल बजारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन राज्यस्तरमा बलियो दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा मुख्य रूपमा प्रस्तुत गरिएका एजेन्डाहरूमा संस्थागत परिचय र दुवै कार्यसमितिबीच कार्यदिशा रहेको छ भने साझा चुनौतीहरूमा नीतिगत पैरवी,ग्रे मार्केट समस्या र मोबाइल इकोसिस्टम नियमन रहेको छ
यस्दै भावी कार्यदिशामा संयुक्त सहकार्यका लागि दीर्घकालीन रोडम्याप तयार गर्ने रहेको छ ।
क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारीले मोबाइल तथा प्रविधिको क्षेत्र देशकै अर्थतन्त्रको मेरुदण्ड बनिसकेको अवस्थामा यस भित्रका बेथिति अन्त्य गर्न दुवै संस्थाको सहकार्य अपरिहार्य रहेको बताए । अवैध आयात (ग्रे मार्केट) ले राज्यको राजस्व गुम्नुका साथै वैधानिक व्यवसायीहरू मर्कामा परेको हुँदा यस विरुद्ध संयुक्त पैरवी गरिने उनको भनाइ थियो ।
त्यस्तै, एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम जस्ता प्रणालीको प्रभावकारी कार्यान्वयन र व्यावहारिक आयात नीतिका लागि क्यान महासंघसँगको यो गठबन्धनले ठूलो ऊर्जा दिएको उल्लेख गरे ।












प्रतिक्रिया दिनुहोस्