काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई गरेको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै पोखरा फाइनान्सलाई गरेको कारबाही फुकुवा भएको छ ।
राष्ट्र बैंकले २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रासको गैरस्थलगत विवरण अनुसार कारबाही गरेको हो ।
केन्द्रीय बैंकका अनुसार उक्त सुपरिवेक्षकीय समायोजन पश्चात् तोकेको न्यूनतम पुँजीकोष अनुपात भन्दा अत्यन्त न्यून देखिएकोले २०८१ माघ २३ को पत्र अनुसार फाइनान्सलाई राष्ट्र बैंक,बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारवाही गरिएको थियो ।
पोखरा र समृद्धि फाइनान्स एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि २०८३ वैशाख १७ को निर्णयबाट अन्तिम स्वीकृति प्रदान भए पश्चात् २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा कायम हुने संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र पुँजीकोष अनुपात १०.८० प्रतिशत रहने देखिएको छ ।
सो अनुसार असार १० को निर्णयबाट समृद्धि फाइनान्स कम्पनीसँग एकीकृत कारोबार शुरु हुने मिति देखि लागू हुने गरी पोखरा फाइनान्स लिमिटेडलाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको कारवाही फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्