Skip to content

पर्यटन क्षेत्रको विकास गर्न विधेयकमा संशोधन आवश्यक: पर्यटनमन्त्री पौडेल

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले विधेयकमा आधुनिक पदमार्ग, आरोग्य पर्यटन, सांस्कृतिक र सहासिक पर्यटकलगायतका बहुआयामिक विषयबस्तुलाई समेटिनुपर्ने आवश्यकता औल्याए ।

मन्त्री पौडेलले तीन वर्षअघि ड्राफ्ट भएको पर्यटन विधेयक राष्ट्रियसभामा पेस भई प्रतिनिधिसभामा आएको भए त्यसमा विस्तृत संशोधन जरुरी रहेको बताए ।

उनले भने, “पर्यटनको प्रशस्त सम्भावना बोकेको देशलाई व्यवस्थित बनाउने बलियो कानुन आवश्यक छ, विधेयकमाथि सरोकारवालबीच छलफल र सांसदबाट आवश्यक सुझाव चाहिन्छ ।”

समितिमा उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिदै सांसदले सरोकारवाला, पर्यटन क्षेत्रका जानकार, व्यवसायी र सम्बन्धित सङ्घसंस्थासँग छलफल गरी विधेयकलाई गुणस्तरीय तुल्याउन सुझाव दिए ।

त्यसअवसरमा समिति सभापति सुम्नीमा उदासले तीन तहको सरकारको साझा अधिकारसँग जोडिएको पर्यटक विधेयक निर्माणदेखि कार्यान्वयनसम्मको अवस्थालाई मध्यनजर गरी संशोधन गर्नुपर्ने बताए ।

सांसद जगदीश खरेल(ललितपुर)ले उक्त विधेयक देशको विकास र समृद्धिसँग जोडिएकाले यसलाई जति सक्दो छिटो कानुनी रुप दिनुपर्ने बताए ।

सांसद गणेशबहादुर विश्वकर्माले पर्यटन क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष समेत समेट्ने गरी विधेयक ल्याइनुपर्ने धारणा राखे ।

सांसद भूमिका लिम्बू सुब्बाले विधेयकमा बहुसांस्कृतिक संग्रालयको अवधारणा समेट्न सुझाव दिइन् ।

सांसद अनुश्का श्रेष्ठले विधेयकको सैद्धान्तिक छलफलकै चरणमै सरोकारवालाबीच पर्याप्त छलफल चलाएर सुझाव लिन सल्लाह दिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T