Skip to content

इम्पेयरमेन्ट चार्जमा छुट्याउने रकम घट्दा विकास बैंकको नाफामा उछाल:  ८१ प्रतिशतभन्दा धेरै बढ्यो, कुनको कति ? 

काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ मा राष्ट्रिय स्तरको विकास बैंकको नाफामा उल्लेख्य सुधार आएको छ। बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ७ वटा राष्ट्रिय स्तरको विकास बैंकले ७ अर्ब १४ करोड ९ लाख ७८ हजार रुपैयाँ बराबरको नाफा आर्जन गर्न सफल भएका हुन ।

एक वर्षको अवधिमा बैंकहरुको नाफा ८१.४६ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा राष्ट्रिय स्तरका ७ विकास बैंकको नाफा ३ अर्ब ९३ करोड ५१ लाख ८५ हजार रुपैयाँमात्र रहेको थियो ।  बैंकहरुको कर्जा असुलीमा सुधार र जोखिम व्यवस्थापनको लागि छुट्याउने खर्च (इम्पेयरमेन्ट चार्ज) घटेको कारण नाफा बढेको हो ।

खराब कर्जा असुलीमा सुधार र सम्पत्तिको गुणस्तर कायम भएसँगै बैंकहरूको इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ ।  वित्तीय व्यवस्थापनसम्बन्धी प्रचलित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि आफ्नो नाफा–नोक्सान खाताबाट निश्चित रकम प्रोभिजन अर्थात् कर्जा नोक्सानी व्यवस्थाका रूपमा छुटाउनुपर्ने हुन्छ।

यस्तो रकम खर्चका रूपमा गणना हुने भएकाले बैंकको तत्कालीन नाफा घट्ने गर्छ। तर, जोखिममा रहेको कर्जा असुली भएपछि वा त्यसबाट हुने सम्भावित नोक्सानीको जोखिम कम भएपछि बैंकले यसअघि छुट्याएको प्रोभिजनमध्ये आवश्यक नपर्ने रकम रिभर्स गर्न सक्छ। यसरी रिभर्स भएको रकमले बैंकको नाफा बढेको हो ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ। बैंकले १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ रहेको थियो। यससँगै बैंकको नाफा ३५.३४ प्रतिशतले बढेको छ।

त्यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ रहेको थियो। बैंकको नाफा ८२.९७ प्रतिशतले बढेको हो।

ज्योति विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १० करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकको नाफा ९०५.७५ प्रतिशतले बढेको छ।

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ रहेको थियो। बैंकको नाफा ३३.५१ प्रतिशतले बढेको छ।

साग्रिला विकास बैंकले गत आर्थिक वर्षमा ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ रहेको थियो। बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको छ।

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा ८५ करोड १० लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २४ करोड ११ लाख ६ हजार रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा बैंकको नाफा २५२.९६ प्रतिशतले बढेको छ।

त्यस्तै, महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ रहेको थियो। बैंकको नाफा ४८.४६ प्रतिशतले बढेको छ।

इम्पेयरमेन्ट चार्जको लागि कुन बैंकले कति छुट्याए?

लुम्बिनी विकास बैंक इम्पेयरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्षमा बैंकले इम्पेयरमेन्ट चार्जको लागि १३ करोड ५० लाख ३६ हजार रुपैयाँ छुट्याएको छ। अघिल्लो आवको तुलनामा बैंकको यस्तो चार्ज ८२.६६ प्रतिशतले घटाउन सफल भएको छ। जसको कारण बैंकको नाफामा सुधार आएको हो । अघिल्लो वर्ष बैंकले यस्तो चार्जको लागि ७७ करोड ८७ लाख ५२ हजार रुपैयाँ छुट्याएको थियो ।

यसैगरी ज्योति विकास बैंकको इम्पेरमेन्ट चार्ज पनि रिभर्स भएको छ। जसको यस बैंकको पनि खुद नाफा बढ्न पुगेको हो। अघिल्लो आर्थिक वर्ष ८७ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्ष ३० करोड १२ लाख रुपैयाँ रिभर्स भएको छ।

गरिमा विकास बैंकको पनि कर्जा असुलीमा आएको सुधार तथा जोखिम व्यवस्थापनका कारण नाफामा सुधार देखिएको छ।  गत आर्थिक वर्ष बैंकले ४ करोड ९० लाख रुपैयाँबराबरको इम्पेरमेन्ट चार्ज छुट्याएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस्तो चार्ज घटेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो चार्जको लागि बैंकले ६४ करोड ७० लाख रुपैयाँ छुट्याएको थियो ।

महालक्ष्मी विकास बैंकले इम्पेरमेन्ट चार्जको लागि ३१ करोड ५६ लाख ८० हजार रुपैयाँ छुट्याएको छ। यस बैंकको पनि यस्तो चार्ज अघिल्लो आवको तुलनामा घटेको छ। अघिल्लो आवसम्म यस बैंकले यस्तो चार्जको लागि ५१ करोड ७३ लाख ७२ हजार रुपैयाँ छुट्याएको थियो ।

यसैगरी, कामना सेवा विकास बैंकको  इम्पेरमेन्ट चार्ज पनि घटेको छ। अघिल्लो असार मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज ४१ करोड ८१ लाख ३१ हजार रुपैयाँ रहेकोमा घटाएर १३ करोड ६५ लाख ४८ हजार रुपैयाँमा झार्न सफल भएको छ।

यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकको प्रोभिजनिङ÷इम्पेयरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको ३४ करोड ५४ लाख रुपैयाँबाट घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ। यसले बैंकको नाफा बढ्नमा सहयोग पुगेको देखिन्छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T