काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसहित ३ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँके श्रोतका अनुसार सीईओ निरजविक्रम शाह, बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ की ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ पक्राउ परेका हुन्।
उनीहरू बैंकिङ कसुरको मुद्दामा फरार थिए। उनीहरुलाई थप कारबाहीका लागि शुक्रबार नै उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा उपस्थित श्रोतले जानकारी दियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्तमाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान हुनेछ । पक्राउ परेका तीनै जनालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरिएको, नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्याङ्कन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको भनी अनुसन्धान अघि बढाइएको थियो ।
यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा तीन अर्ब २० करोड रूपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ । हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार छन् । अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायतका व्यक्ति पनि रहेका छन् ।
बैंकको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो । उक्त घटनाले बैंकिङ क्षेत्रको आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्