काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित वनकालीमा रहेको प्राचीन धर्मशाला, ऐतिहासिक पोखरी, पार्क तथा कलात्मक सीमापर्खाल पुनर्निर्माण तथा संरक्षण कार्यको शिलान्यास गरिएको छ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले विधिपूर्वक पूजाआजा गरी निर्माण कार्यको शिलान्यास गरकी हुन ।
शिलान्यासपछि प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डंगोलले पशुपति क्षेत्रमा आउने श्रद्धालुहरूलाई त्यही क्षेत्रमा सहज रूपमा बसोबास गरी दर्शन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले परियोजना अघि बढाइएको बताइन्। उनले एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन्।
‘एक वर्षमा काम सम्पन्न गर्ने लक्ष्यसहित योजना अगाडि बढाएका छौँ। वडाले नेतृत्व लिएको छ। पशुपति क्षेत्र विकास कोषसँग समन्वय भइरहेको छ। सबैको सक्रियतामा योजना सम्पन्न हुनेछ,’ उनले भनिन्।
वडाध्यक्ष एवं समितिका संयोजक संगतका अनुसार वनकाली धर्मशालाको पुनरुत्थान दुई चरणमा गरिनेछ। पहिलो चरणमा धर्मशालाको छाना मर्मत, फल्याक राख्ने, वाटरप्रुफिङ गर्ने तथा छाना नभएका स्थानमा नयाँ छाना राख्ने काम भइरहेको छ। छाना मर्मतका लागि सार्वजनिक खरिद प्रक्रियामार्फत १ करोड ३२ लाख ५४ हजार ६१३ रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।
संगतले वनकाली क्षेत्रको प्राचीन पहिचान पुनःस्थापना गर्ने उद्देश्यले काम भइरहेको बताउँदै २०४५ देखि २०५० सालतिर पुरिएको पोखरीसमेत पुनरुत्थान गरिने जानकारी दिए।
यस परियोजनाको गुरुयोजना काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले तयार पारेको हो। आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईका अनुसार पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको करिब १२ रोपनी ६ आना क्षेत्रफलमा निर्माण तथा पुनर्निर्माणका काम हुनेछन्। परियोजनाको कुल लागत करसहित ३ करोड ६५ लाख १३ हजार ४३२ रुपैयाँ रहेको छ। निर्माण पक्षसँग असार १७ गते सम्झौता भएको र निर्माण अवधि २०८४ असार १० गतेसम्म रहेको छ।
३६ कोठे धर्मशालाको मौलिक स्वरूपमा जीर्णोद्धार
करिब एक रोपनी क्षेत्रफलमा फैलिएको ३६ कोठे धर्मशाला भवन लामो समयदेखि जीर्ण अवस्थामा थियो। भवनका झ्याल–ढोका मक्किएका, थामले ठाउँ छाडेका, छाना चुहिने तथा कतिपय स्थानमा छाना नै नभएका कारण त्यहाँ मानव बसोबास गर्न सक्ने अवस्था थिएन।
अब धर्मशाला भवनलाई मौलिक स्वरूप कायम राख्दै जीर्णोद्धार गरिनेछ। श्रद्धालुहरूको बसोबासलाई सहज बनाउन प्रत्येक तलाको दुवैतर्फ महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय तथा स्नान कक्ष निर्माण गरिनेछ। निर्माणपछि धर्मशालामा २४ वटा शौचालय र २० वटा स्नान कक्ष हुनेछन्।
धर्मशाला भवनमा सरसफाइ तथा स्वच्छताका कामसँगै खानेपानीका लागि पाइपलाइन र विद्युत् जडानसमेत गरिनेछ।
सबै उमेर समूहलाई लक्षित पार्क
धर्मशाला भवन अगाडि श्रद्धालु तथा आगन्तुकका लागि आकर्षक पार्क निर्माण गरिनेछ। पार्कमा सबै उमेर समूहलाई ध्यानमा राखेर विभिन्न संरचना तथा सुविधाहरू राखिनेछन् । ज्येष्ठ नागरिकका लागि सामान्य व्यायाम तथा योग गर्ने स्थान, आराम गर्ने फलैँचा र बस्ने कुर्सीको व्यवस्था गरिनेछ। युवाहरूका लागि व्यायाम गर्ने उपकरण तथा ब्याडमिन्टन कोर्ट निर्माण गरिनेछ। बालबालिकाका लागि ट्राम्पोलिन, मङ्की बार, चिप्लेटीलगायत खेल सामग्रीको व्यवस्था हुनेछ।
परिसरमा समूहगत रूपमा बस्न मिल्ने बेञ्च तथा खुला स्थानमा कुर्सी राखिनेछन्। पानीको फोहोरा तथा मानिसहरू बस्न मिल्ने साना–ठूला चौतारा पनि निर्माण गरिने योजना छ। निर्माणका क्रममा वर्षाको पानी जमिनमै सोसिने व्यवस्था मिलाइनेछ।
आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार करिब ६ हजार ३८१ वर्गमिटर क्षेत्रफल सरसफाइ गरेपछि निर्माणको मुख्य काम अघि बढाइनेछ। पोखरी निर्माणसहित बगैँचा तयार गर्न करिब ३ हजार २३० घनमिटर माटो तथा बालुवा प्रयोग गरिनेछ।
बगैँचामा ४ फिट उचाइका १५० वटा र ८ फिट उचाइका ३० वटा बिरुवा रोपिनेछन्। साथै, ६ सय वटा मौसमी फूल तथा २५० वटा पोली हेजसहितको हरियाली क्षेत्र निर्माण गरिनेछ।
कलात्मक सीमापर्खाल निर्माण
परिसरको करिब ३५० मिटर लम्बाइमा सीमापर्खाल निर्माण गरिनेछ। पर्खालको करिब १ हजार ३५४ वर्गमिटर क्षेत्रमा दछी आपा राखिनेछ। पर्खालमा कासिमो बुट्टा र पालेफो बुट्टासहितको परम्परागत कलात्मक शैली प्रयोग गरिनेछ।
त्यस्तै, भुइँको २२७ दशमलव ७९ वर्गमिटर क्षेत्रमा परम्परागत तेलिया टायल राखिनेछ। भुइँ र पर्खाल गरी कुल ३९७ दशमलव ९९ वर्गमिटर क्षेत्रमा टायल प्रयोग गरिनेछ । परियोजना सम्पन्न भएपछि वनकाली धर्मशाला क्षेत्रले आफ्नो मौलिक ऐतिहासिक तथा सांस्कृतिक पहिचान पुनःप्राप्त गर्नुका साथै पशुपति क्षेत्रमा आउने श्रद्धालुका लागि आवास, विश्राम, मनोरञ्जन र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्