काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्नु कुनै नयाँ विषय होइन। हरेक वर्ष आर्थिक वर्ष सकिएपछि बैंकहरूले नाफा कमाउँछन्, लेखापरीक्षण गर्छन्, नियामक निकायको स्वीकृति लिन्छन् र लाभांश घोषणा गर्छन्। यो बैंकिङ क्षेत्रको नियमित प्रक्रिया हो।
तर कहिलेकाहीँ नियमित प्रक्रियाभित्र पनि यस्ता घटना हुन्छन्, जसले सबैको ध्यान तान्छन्। कामना सेवा विकास बैंकले साउन २२ गतेसार्वजनिक गरेको लाभांश घोषणाले यस्तै चर्चा पायो। कारण लाभांशको प्रतिशत मात्र थिएन, समय थियो। बैंकले आर्थिक वर्ष सकिएको एक महिनाभित्रै १५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्यो।बैंकिङ क्षेत्रमा यो सामान्य घटना होइन।
सामान्यतया अधिकांश बैंक तथा वित्तीय संस्थाहरू असार मसान्तपछि वित्तीय विवरण तयार पार्न, ब्याज समायोजन गर्न, लेखापरीक्षण प्रक्रियापूरा गर्न र राष्ट्र बैंकमा कागजात पठाउन नै महिनौं समय खर्च गर्छन्।अझ लाभांश घोषणा त त्यसपछि मात्र आउने विषय हो।
यही पृष्ठभूमिमा कामना सेवा विकास बैंकको घोषणाले लगानीकर्ता, बैंकिङ क्षेत्र र नियामक निकायको ध्यान एकैपटक तानेको छ।
नेपाल राष्ट्र बैंकले यस वर्ष पनि बैंक तथा वित्तीय संस्थालाई साउन १५गतेसम्म उठेको ब्याजलाई अघिल्लो आर्थिक वर्षको आम्दानीमा गणना गर्न पाउने व्यवस्था कायम राखेको छ। यो व्यवस्था पहिलो पटकको भिड–१९ महामारीका बेला ल्याइएको थियो। महामारीका कारण कर्जा असुली प्रभावित भएपछि बैंकहरूलाई राहत दिन यस्तो सुविधा दिइएको थियो।
कोभिड सकिएपछि यो सुविधा हटाउने विषयमा पटक–पटक छलफलभए पनि बैंक तथा वित्तीय संस्थाहरूले निरन्तर यसको अवधि कायम राख्न माग गर्दै आएका छन्। फलस्वरूप राष्ट्र बैंकले अहिले पनि साउन१५ गतेसम्म उठेको ब्याजलाई अघिल्लो वर्षको आम्दानीमा गणना गर्नदिने व्यवस्था जारी राखेको छ।
यसको अर्थ असार मसान्तसम्म नउठेको ब्याज पनि साउन १५ गतेभित्र उठेमा त्यसलाई अघिल्लो आर्थिक वर्षको नाफामा समावेश गर्न सकिन्छ। त्यसैले धेरै बैंकहरू असार मसान्तपछि पनि दुई सातासम्मब्याज असुलीमा केन्द्रित हुन्छन्। नाफा बढाउने र निष्क्रिय कर्जाको अनुपात घटाउने दृष्टिले यो सुविधा उपयोगी मानिन्छ।
यही कारण धेरै बैंक तथा वित्तीय संस्थाले साउन १५ गतेसम्मको अवधि कुर्ने गर्छन्। त्यसपछि मात्र वित्तीय विवरण तयार पार्ने र सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्छ।
तर कामना सेवा विकास बैंकले भने फरक निर्णय गर्यो।
बैंकले असार मसान्तसम्मको वास्तविक वित्तीय अवस्थालाई आधार मानेर साउन २ गते नै वित्तीय विवरण सार्वजनिक गर्यो। त्यसपछिलेखापरीक्षण प्रक्रिया अघि बढायो र राष्ट्र बैंकमा लाभांश स्वीकृतिकालागि प्रस्ताव पठायो। अन्ततः साउन २२ गते १५ प्रतिशत नगद लाभांश प्रस्ताव सार्वजनिक गर्यो।
यसले एउटा स्वाभाविक प्रश्न जन्मायो—“जब अरू बैंकहरू अझै वित्तीयविवरण तयार पारिरहेका छन्, कामनाले कसरी लाभांशसम्म घोषणा गर्यो ?”
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली यसलाई कुनै चमत्कार मान्दैनन्। उनका अनुसार यो योजनाबद्ध तयारी, अनुशासन र समय व्यवस्थापनको परिणाम हो।
थकाली भन्छन्, “हामीले कुनै विशेष काम गरेका होइनौं। असार मसान्तमा खाता बन्द भएपछि आवश्यक प्रक्रिया समयमै पूरा गरेकाहौं। समयमै योजना बनाएर काम गर्ने हो भने वित्तीय विवरण सार्वजनिक गर्न र लाभांश घोषणा गर्न धेरै समय लाग्दैन।”
उनका अनुसार बैंकले विगत तीन वर्षदेखि यही अभ्यासलाई निरन्तर तादिँदै आएको छ। असार मसान्तपछि साउन १५ गतेसम्मको सुविधा प्रयोग गरेर नाफा बढाउनेभन्दा वास्तविक वित्तीय अवस्था प्रस्तुत गर्नु उचित हुने निष्कर्ष व्यवस्थापनले निकालेको छ।
“कोभिडको समयमा ल्याइएको सुविधा त्यतिबेला आवश्यक थियो।अहिले अवस्था सामान्य भइसकेको छ। त्यसैले हामीले वास्तविक तथ्यांककै आधारमा वित्तीय विवरण सार्वजनिक गर्ने नीति लिएका छौं,” थकाली भन्छन्।
उनका अनुसार छोटो अवधिमा नाफा केही बढाउन सकिए पनि त्यसको प्रभाव आगामी वर्षको वित्तीय विवरणमा देखिन्छ। त्यसैले बैंकले दीर्घकालीन पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकता दिएकोछ।
बैंकका अधिकारीहरूका अनुसार साउन १५ गतेसम्मको सुविधा प्रयोग गर्दा तत्काल लाभ देखिए पनि अन्ततः त्यो रकम बैंकभित्रै रहने हो।त्यसैले केही दिनको प्रतीक्षा गरेर नाफा बढाएर देखाउनु भन्दा वास्तविक अवस्थालाई सार्वजनिक गर्नु बढी उचित ठहर गरिएको छ।
कामनाको यो अभ्यास केवल व्यवस्थापनको इच्छाशक्तिले मात्र सम्भव भएको होइन। बैंकका अधिकारीहरूका अनुसार यसमा सञ्चालक समितिको पूर्ण सहयोग रहेको छ। सञ्चालक समितिले समयमै निर्णय गर्ने, आवश्यक स्वीकृति छिटो उपलब्ध गराउने र व्यवस्थापनलाई स्वतन्त्ररूपमा काम गर्न दिने वातावरण बनाएको छ।
त्यसैगरी देशभरका शाखा कार्यालयका कर्मचारीहरूको मेहनत पनिउत्तिकै महत्वपूर्ण रहेको बैंक बताउँछ। अहिले अधिकांश बैंकिङ प्रक्रियाडिजिटल भइसकेका कारण सूचना संकलन, समायोजन र प्रतिवेदनतयारी अपेक्षाकृत छिटो गर्न सकिन्छ। तर त्यसका लागि समयमै कामगर्ने संस्कार आवश्यक हुन्छ।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार कामना सेवा विकास बैंकले देखाएको अभ्यासले एउटा महत्वपूर्ण बहस सुरु गरेको छ। राष्ट्र बैंकले दिएको सुविधा उपयोग गर्नु कानुनी रूपमा सही भए पनि सबै संस्थाले त्यसैमा निर्भर रहनुपर्छ भन्ने छैन।
विशेष गरी संस्थागत सुशासन र पारदर्शितालाई प्राथमिकता दिने संस्थाहरूले वास्तविक वित्तीय अवस्थालाई आधार बनाएर छिटो प्रतिवेदन सार्वजनिक गर्न सक्छन् भन्ने उदाहरण कामनाले प्रस्तुत गरेको छ।
यसको प्रभाव लगानीकर्तामा पनि सकारात्मक देखिएको छ। बैंकका सेयरधनीहरूले समयमै लाभांश घोषणा भएकोमा खुसी व्यक्त गरिरहेका छन्। बैंकले दशैंअघि नै वार्षिक साधारणसभा सम्पन्न गरेर लाभांश वितरण गर्ने तयारी गरिरहेको छ। यदि नियामकीय प्रक्रिया समयमै पूराभयो भने सेयरधनीहरूले दशैंअघि नै लाभांश प्राप्त गर्न सक्नेछन्।
राष्ट्र बैंकका अधिकारीहरूले पनि कामनाको अभ्यासलाई सकारात्मकरूपमा लिएको बताइन्छ। पछिल्ला केही वर्षदेखि वित्तीय विवरण रलाभांश प्रस्ताव समयमै ल्याउने संस्थाका रूपमा कामना परिचित बन्दैगएको छ।

वास्तवमा हेर्ने हो भने कामनाले लाभांश घोषणा गरेर कुनै नयाँ नियम बनाएको होइन। उसले नियमित काम नै गरेको हो। तर बैंकिङ क्षेत्रमा वर्षौंदेखि स्थापित ढिलाइको संस्कृतिबीच समयमै काम गर्नु नै असाधारण देखिएको छ।
साउन २२ गतेको लाभांश घोषणा त्यसैले चर्चाको विषय बन्यो। कारण १५ प्रतिशत लाभांशभन्दा ठूलो कुरा त्यो घोषणाको समय थियो।आर्थिक वर्ष समाप्त भएको केही सातामै वित्तीय विवरण सार्वजनिकगरेर लाभांश प्रस्ताव गर्नु नेपाली बैंकिङ क्षेत्रमा अझै पनि दुर्लभ अभ्यास हो।
यही कारण कामना सेवा विकास बैंकको यो कदमलाई धेरैले ‘नियमित प्रक्रिया भित्रको असाधारण काम’ का रूपमा व्याख्या गरिरहेका छन्।कोभिडकालीन सुविधामा निर्भर नभई वास्तविक वित्तीय अवस्था सार्वजनिक गर्ने, समयमै लेखापरीक्षण सम्पन्न गर्ने र सेयरधनीलाई छिटो प्रतिफल दिने अभ्यासले बैंकलाई फरक पहिचान दिएको छ।
बैंकिङ क्षेत्र विश्वासमा चल्ने व्यवसाय हो। त्यो विश्वास केवल नाफाले होइन, पारदर्शिता, अनुशासन र समयमै जिम्मेवारी पूरा गर्ने संस्कृतिले निर्माण गर्छ। कामना सेवा विकास बैंकले यही सन्देश व्यवहारबाट दिएको छ। त्यसैले अहिले बैंकिङ वृत्तमा एउटा चर्चा चलिरहेको छ—यदि चाहना, तयारी र प्रतिबद्धता छ भने वित्तीय विवरण र लाभांशका लागि महिनौं कुर्नु किन आवश्यक छ ?
८९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार रुपैयाँ रहेको थियो।
बैंकको सञ्चालन मुनाफा पनि उल्लेखनीय रूपमा बढेको छ। असार मसान्तसम्म बैंकले १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४ करोड ४ लाख रुपैयाँको तुलनामा ३२.८७ प्रतिशत बढी हो।
असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत रहेको देखिन्छ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४१ करोड ८१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर १३ करोड ६५ लाख रुपैयाँमा झरेको छ।
यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) भने केही बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ३.४९ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा बढेर ३.७७ प्रतिशत पुगेको छ।
असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ सञ्चित रहेको छ।
समीक्षा अवधिमा बैंकले ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा १९.०८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा बढेर २२.७५ रुपैयाँ पुगेको छ।
यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १६९.१२ रुपैयाँबाट बढेर १७१.०१ रुपैयाँ पुगेको छ।





प्रतिक्रिया दिनुहोस्