Skip to content

क्यान महासंघमा विवाद: नाम, लेटरहेड र छापको अनधिकृत प्रयोग नगर्न कावा अध्यक्षलाई महासचिवको चेतावनी

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चन्द्रविलास भुर्तेलले महासंघको नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बर अनधिकृत रूपमा प्रयोग गरी पत्राचार नगर्न कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीलाई चेतावनी दिएका छन्

महासचिव भुर्तेलले आज विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

महासचिव भुर्तेलद्वारा जारी विज्ञप्तिअनुसार कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र सरकारी निकायमा पत्र पठाइएको छ । विज्ञप्तिमा यस्ता पत्र, निर्णय वा सूचना आफ्नो आधिकारिक धारणा वा निर्णय नभएको स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “क्यान महासंघको आधिकारिक पत्राचार विधान, संस्थागत निर्णय र सचिवालयको निर्धारित प्रक्रियाअनुसार अधिकारप्राप्त निकायबाट मात्र हुने व्यवस्था छ। यसविपरीत जारी गरिएका कुनै पनि कागजात महासंघको आधिकारिक मानिने छैनन्।”

विज्ञप्तिमा नाम, लेटरहेड, छाप वा दर्ता–चलानी नम्बरको अनधिकृत प्रयोग तत्काल बन्द गर्न सबैलाई सचेत गराएको जनाइएको छ । यस्ता गतिविधि दोहोरिएमा वा संस्थाको प्रतिष्ठा र कामकारबाहीमा असर पुगेमा विधान तथा प्रचलित कानूनबमोजिम संस्थागत र कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

क्यान महासंघको नामबाट आएका कुनै पनि पत्र वा निर्देशनको आधिकारिकता सचिवालयबाट पुष्टि नगरी कार्यान्वयन नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी निकाय, सदस्य संस्था र सरोकारवालालाई अनुरोध गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T