काठमाडौं । नेपालमा घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२÷८३ मा देशभर घरजग्गाको कुल कारोबार ४.७४ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी अध्ययनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा घरजग्गा कारोबारको संख्या १.८४ प्रतिशतले घटेको थियो । तर, गत आर्थिक वर्षमा भने कारोबार बढेको हो ।
आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासमा मात्रै घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबार १४.६५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले बढेको छ । त्यस्तै, लिखत पारितअन्तर्गतको राजीनामा कारोबार २२.८८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा राजीनामा कारोबार ८.१५ प्रतिशतले मात्रै बढेको थियो ।
गत आर्थिक वर्षको एक वर्षमा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँमात्र थियो ।
यसैैगरी, आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो ।
समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ । त्यस्तै, पुँजीगत लाभकर ६३.२२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारबाट संकलित राजस्व २३.४५ प्रतिशत र पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो ।
घरजग्गा कारोबार बढेसँगै यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा समेत वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासमा आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो ।
गत आवमा प्रदेशगत रूपमा हेर्दा घरजग्गा कारोबारमा बागमती प्रदेश अगाडि देखिएको छ । आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासमा बागमती प्रदेशमा राजीनामा कारोबारको संख्या ६९.३८ प्रतिशतले बढेको छ ।
यस अवधिमा मधेश प्रदेशमा भने राजीनामा कारोबार ३.४४ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा राजीनामा कारोबार बढेको राष्ट्र बैंकले जनाएको छ । घरजग्गा कारोबार भएको कुल क्षेत्रफल पनि बागमती प्रदेशमा सबैभन्दा धेरै ५०.२४ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा भने यस्तो क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ ।
कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा बढेको छ । बागमती प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य १७५.३३ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम ३१.९८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मधेश प्रदेशमा २० आनाभन्दा बढी क्षेत्रफलका प्लटमा सबैभन्दा धेरै कारोबार भएको थियो । अन्य प्रदेशमा भने २.५ देखि १० आना क्षेत्रफलका प्लटमा बढी कारोबार भएको थियो । महानगरपालिकाको तथ्यांक हेर्दा काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासमा काठमाडौं महानगरपालिकामा घरजग्गाको कुल कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ । त्यसपछि ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार संख्या बढेको छ ।
कारोबार भएको कुल क्षेत्रफलमा पनि सबै महानगरपालिकामा वृद्धि भएको छ । काठमाडौं महानगरपालिकामा यस्तो क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ भने वीरगञ्जमा १३.३१ प्रतिशतले वृद्धि भएको छ ।
घरजग्गा कारोबारको कुल मूल्यसमेत सबै महानगरपालिकामा बढेको छ । काठमाडौं महानगरपालिकामा कारोबारको कुल मूल्य २१७.४० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
उपमहानगरपालिकातर्फ कलैया बाहेक सबै स्थानमा घरजग्गा कारोबारको संख्या बढेको छ । धनगढी उपमहानगरपालिकामा कारोबार संख्या सबैभन्दा धेरै ७३.१६ प्रतिशतले बढेको छ ।
कारोबार भएको कुल क्षेत्रफलमा हेटौंडा उपमहानगरपालिका अगाडि देखिएको छ । समीक्षा अवधिमा हेटौंडामा कारोबार भएको कुल क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ ।
त्यस्तै, घरजग्गा कारोबारको कुल मूल्यमा पनि सबै ११ उपमहानगरपालिकामा वृद्धि भएको छ । हेटौंडा उपमहानगरपालिकामा कारोबारको कुल मूल्य १८६.८० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्