काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तारसँगै फिनटेक क्षेत्रमा नवप्रवर्तन र प्रतिस्पर्धा बढाउने उद्देश्यले पाँचवर्षे रणनीतिक ढाँचा तयार गरेको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ । रणनीतिमा फिनटेकमैत्री नियमन, सुरक्षित तथा सुदृढ डिजिटल पूर्वाधार र सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकतामा राखिएको छ ।
राष्ट्र बैंकका अनुसार रणनीतिको मुख्य उद्देश्य डिजिटल वित्तीय सेवामा पहुँच विस्तार गर्नुका साथै वित्तीय क्षेत्रमा प्रतिस्पर्धा बढाउनु, सेवाका विकल्प विस्तार गर्नु, वित्तीय स्थायित्वमा आउन सक्ने जोखिम न्यूनीकरण गर्नु र प्रविधिको प्रयोगमार्फत वित्तीय सेवाको लागत घटाउनु हो ।
रणनीतिको कार्यान्वयनका लागि पूर्वाधार विकास, नीति–नियमन तथा सुशासन र फिनटेक इकोसिस्टम विकास गरी तीन प्रमुख आधारस्तम्भ तय गरिएको छ । फिनटेक सेवा प्रदायकबीच समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न आवश्यक नियामकीय व्यवस्था विकास गर्ने योजना राष्ट्र बैंकले अघि सारेको छ ।
रणनीतिले सुरक्षित, भरपर्दो र सुदृढ डिजिटल प्रणालीको विकाससँगै नयाँ डिजिटल वित्तीय उत्पादन तथा सेवाको विस्तारलाई समेत प्राथमिकता दिएको छ । त्यस्तै, वित्तीय क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, डिजिटल वित्तीय साक्षरता बढाउने तथा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने विषयलाई रणनीतिमा समेटिएको छ ।
राष्ट्र बैंकले रणनीतिको लक्षित समूहमा सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई), ग्रामीण क्षेत्र, युवा, महिला, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध श्रमिकलाई राखेको छ ।
रणनीति कार्यान्वयनबाट सुरक्षित, समावेशी, नवीन तथा अन्तरआबद्ध डिजिटल वित्तीय प्रणालीको विकास हुने राष्ट्र बैंकको अपेक्षा छ । साथै, फिनटेक क्षेत्रको विकाससँगै डिजिटल वित्तीय सेवामा पहुँच र प्रयोग बढ्ने तथा वित्तीय क्षेत्रमा थप प्रतिस्पर्धात्मक वातावरण निर्माण हुने विश्वास गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्