Skip to content

असोज महिनामा थप घट्यो निक्षेपको ब्याजदर: औसत ४.०९ प्रतिशतमा झर्यो, कुन बैंकले दिन्छ सबैभन्दा बढी ?

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागेको वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर असोज महिनाका लागि थप घटेको छ । भदौ महिनामा ४.१३६ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर असोजमा घटेर ४.०८९५ प्रतिशतमा झरेको हो ।

असोज महिनामा बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर भदौको तुलनामा ०.०४६५ प्रतिशत बिन्दुले घटेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले निक्षेप संकलनका लागि बैंकहरूबीचको प्रतिस्पर्धा घट्दै जाँदा पछिल्लो समय निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ ।

असोज महिनाका लागि चारवटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र एभरेष्ट बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका हुन् । बाँकी वाणिज्य बैंकहरूको ब्याजदर भने भदौ महिनाकै दरमा यथावत् रहेको छ ।

असोज महिनाका लागि सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर दिने बैंक प्रभु बैंक रहेको छ । प्रभु बैंकले आफ्ना ग्राहकलाई ४.५५ प्रतिशत ब्याजदर दिने भएको छ ।

त्यसैगरी, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५० प्रतिशत ब्याजदर दिने भएका छन् ।

यस्तै, नबिल बैंकले ४.२५ प्रतिशत तथा कृषि विकास बैंक र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा निक्षेपको ब्याजदर घट्ने क्रम जारी रहेको छ । ब्याजदरमा आएको गिरावटले बैंकबाट कर्जा लिने ग्राहकका लागि पनि आगामी दिनमा कर्जाको ब्याजदरमा थप कमी आउने सम्भावना देखिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T