काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै वाणिज्य बैंकहरूले पौने ९ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
साउनमा सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बैंक रहेको छ । नबिल बैंकले एक महिनामै ८८ करोड ३१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
नाफाका आधारमा नबिलपछि ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ । ग्लोबल आइएमई बैंकले साउनमा ८१ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।
साउन महिनामा कुमारी बैंकले ५४ करोड ७ लाख ९ हजार रुपैयाँ तथा राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यस्तै प्राइम कमर्सियल बैंकले ५२ करोड १८ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
लक्ष्मी सनराइज बैंकले साउनमा ४९ करोड ६७ लाख ५० हजार रुपैयाँ, एभरेष्ट बैंकले ४९ करोड २१ लाख ९० हजार रुपैयाँ र एनएमबी बैंकले ४७ करोड ९० लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यसैगरी सिद्धार्थ बैंकले ४२ करोड ९४ लाख ९० हजार रुपैयाँ, कृषि विकास बैंकले ३८ करोड ८२ लाख ९० हजार रुपैयाँ र सानिमा बैंकले ३८ करोड २८ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
प्रभु बैंकले ३२ करोड ९३ लाख ९० हजार रुपैयाँ नाफा कमाउँदा नेपाल बैंकले ३० करोड ८६ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै हिमालयन बैंकले २७ करोड ३० लाख २० हजार रुपैयाँ र माछापुच्छ्रे बैंकले २७ करोड २७ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
सिटिजन्स बैंकले साउनमा २५ करोड ९२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै एनआईसी एशिया बैंकले २२ करोड १७ लाख १० हजार रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २० करोड ३८ लाख ८० हजार रुपैयाँ नाफा कमाएका छन् ।
साउनमा सबैभन्दा कम नाफा कमाउने वाणिज्य बैंक नेपाल एसबीआई बैंक रहेको छ । नेपाल एसबीआई बैंकले एक महिनामा १७ करोड ५९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको तथ्यांकले देखाएको छ ।








प्रतिक्रिया दिनुहोस्