काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले भोटेकोसी बाढीपछि बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकले प्रोभिजन गर्न सुविधा दिनुपर्ने बताएका छन्।
सिबिफिनले आयोजना गरेको छलफल कार्यक्रममा उपाध्यायले बैंकिङ क्षेत्र निक्षेपकर्ताको विश्वासमा चल्ने भएकाले विपद्का कारण उत्पन्न जोखिम व्यवस्थापनमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्नुपर्ने बताए।
उनले नेपाल धितोपत्र बोर्ड ९सेबोन० को नीतिका कारण केही असहजता हुन सक्ने धारणा राखे। यद्यपि, सेयर बजारसम्बन्धी बोर्डले लिएको नीति भने स्वागतयोग्य रहेको उनले बताए। उक्त नीतिले दोस्रो बजार सुधार गर्न सहयोग पुग्ने तथा बजारलाई चलायमान बनाउन मद्दत गर्ने उनको भनाइ थियो।
‘समग्र क्षेत्र चलायमान हुँदा बैंकिङ क्षेत्र पनि चलायमान हुन्छ,’ उनले भने।
उपाध्यायले अहिले बैंकिङ क्षेत्रमा नयाँ सेयरधनी आउने विषयमा पनि सोच्नुपर्ने अवस्था रहेको बताए। बैंक तथा वित्तीय संस्थाले विपद् राहत कोषमा राखेको रकमलाई सीएसआरमा गणना गर्न दिनु उचित हुने उनको धारणा थियो। सीएसआरको रकम सरकारले तान्नु गलत हुने बताउँदै उनले बैंकिङ क्षेत्रले सीएसआरमार्फत दुर्गम क्षेत्रमा समेत लगानी गरिरहेको जानकारी दिए।
बैंकको लगानीमा जलवायुजन्य जोखिम (क्लाइमेट रिस्क)लाई थप ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा सिबिफिनका महासचिव गोयलले यसअघि नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले त्यसको असर अहिले देखिन थालेको बताए। १०० खर्बको अर्थतन्त्रको कुरा गरिरहँदा बैंकिङ क्षेत्रमा आकर्षण बढ्नैपर्ने उनको भनाइ थियो। बैंक बलियो र आकर्षक नभए १०० खर्बको अर्थतन्त्र निर्माणको लक्ष्य हासिल गर्न कठिन हुने उनले बताए।
त्यस्तै, सिबिफिनका उपाध्यक्ष दिलिप मुनकर्मीले अहिले बैंकिङ क्षेत्रमा प्राथमिक पुँजीकोष टाइट रहेको बताए। बैंकका संस्थापक सेयरधनी बाहिरिन चाहेको अवस्थामा सहज रूपमा बाहिरिन दिनुपर्ने उनको धारणा थियो।








प्रतिक्रिया दिनुहोस्