काठमाडौं । नेपाल राष्ट्र बैंकले २०२५ सिरिजको नयाँ हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ। बैंकले साविककै आकारमा रङ्ग परिवर्तन गरी तयार पारिएको नयाँ नोट आज (असोज ८ गते)देखि चलनचल्तीमा ल्याउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङ्गको संयोजन प्रयोग गरिएको छ । नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु हुनेछ ।
नयाँ नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानीछाप तथा त्यसको मुनि ‘१०००’ अंकको पानीछाप राखिएको छ । यस्तै, प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा ‘१०००’ देखिने गरी निलो रङ्गको ‘सी थ्रो रजिस्टर’ राखिएको छ ।
दृष्टिविहीन व्यक्तिले स्पर्शमार्फत नोटको दर पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले तल्लो भागमा रोमन अक्षर राखिएको छ। सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०–१० वटा तेर्सा रेखा समेत राखिएको छ ।
नोटमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र भगवतीको चित्र राखिएको छ। उक्त चित्रलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने गरी तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो प्रयोग गरिएको छ। सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त चलायमान सुरक्षण धागोमा ‘एनआरबी’ र ‘१०००’ अंकित गरिएको छ ।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । नोटको तल्लो भागमा सिरिज नम्बर ‘विसं २०८२’ उल्लेख गरिएको छ ।
नोटको पृष्ठभागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा रहेका नेपाली हात्तीमध्ये देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ । चित्रको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ ।








प्रतिक्रिया दिनुहोस्