काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनःसंरचनादेखि इन्साइडर ट्रेडिङ नियन्त्रणसम्म कानुन बनाउन अर्थसमितिको निर्देशन दिएको छ । समितिले नेप्सेको पुनःसंरचनाको कामलाई तीव्रता दिन निर्देशन दिएको छ ।
नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम (नट्स) तथा डाटा प्रणालीमा समय–समयमा समस्या देखिँदा लगानीकर्ता र सरकारको राजस्वमा समेत असर परेको भन्दै समितिले प्रविधिको स्तरोन्नति गर्न निर्देशन दिएको हो । साथै, अनलाइन कारोबार प्रणालीको साइबर सुरक्षालाई थप सुदृढ बनाउन अर्थ मन्त्रालय, सेबोन र नेप्सेलाई आवश्यक व्यवस्था गर्न भनिएको छ।
त्यस्तै, धितोपत्रको दोस्रो बजारमा हुने विभिन्न किसिमका चलखेल नियन्त्रण गर्न पनि समितिले निर्देशन दिएको छ। मिलेमतोमा कारोबार गर्ने, आपूर्ति नियन्त्रण गरी कृत्रिम अभाव सिर्जना गर्ने तथा कृत्रिम माग र मूल्य बढाएर उच्च मूल्यमा बिक्री गर्ने कर्नरिङ, सर्कुलर ट्रेडिङ तथा पम्प एन्ड डम्पजस्ता गतिविधिको प्रभावकारी निगरानी र अनुगमन गर्न सेबोन र नेप्सेलाई समितिले निर्देशन दिएको हो ।
यस्ता गैरकानुनी तथा बजारलाई प्रभावित पार्ने गतिविधिमा संलग्न व्यक्ति वा कम्पनीमाथि तत्काल आवश्यक कारबाही अघि बढाउनसमेत समितिले निर्देशन दिएको छ । साथै, यस्ता गतिविधि नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था गर्नेतर्फ पनि ध्यान दिन समितिले सम्बन्धित निकायलाई भनेको छ ।









प्रतिक्रिया दिनुहोस्