काठमाडौं । युरोपमा विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने खर्च डिजेलबाट चल्ने सवारीसाधनमा इन्धन भर्न लाग्ने खर्चको तुलनामा औसतमा आधाभन्दा कम रहेको एक अध्ययनले देखाएको छ।
ब्रसेल्सस्थित वातावरण संरक्षणसम्बन्धी संस्था ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्टले सार्वजनिक गरेको विश्लेषणले युरोपमा विद्युतीय सवारीसाधनको प्रयोगतर्फको रूपान्तरणलाई थप गति दिनुपर्ने देखाएको छ।
संस्थाले सबै उपभोक्ताका लागि समान रूपमा इन्धन कर घटाउनुको सट्टा न्यून आय भएका परिवारलाई लक्षित गरी राहत तथा सहयोग उपलब्ध गराउन सुझाव दिएको छ। त्यस्तै, ऊर्जा कम्पनीबाट प्राप्त हुने अतिरिक्त करमार्फत सार्वजनिक यातायातको विकास र पुराना सवारीसाधन विस्थापन कार्यक्रमलाई सहयोग गर्न सकिने जनाएको छ।
संस्थाका वरिष्ठ निर्देशक एन्टोनी फ्रोगाटले डिजेलको मूल्य उच्च रहेको वर्तमान अवस्थामा युरोप ऊर्जा संकटको संवेदनशील चरणमा रहेको बताउनुभएको छ। उहाँका अनुसार अमेरिकाबाट डिजेल निर्यातमा अवरोध उत्पन्न भएमा युरोपमा इन्धन आपूर्ति अभावको जोखिमसमेत बढ्न सक्छ।
दीर्घकालीन रूपमा विद्युतीय सवारीसाधनको विस्तारले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन सहयोग गर्ने उहाँको भनाइ छ। यद्यपि, तत्कालका लागि उपभोक्ता र व्यवसायलाई राहत दिने आवश्यक उपाय अपनाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
अध्ययनअनुसार यस वर्षको सुरुवातको तुलनामा अहिले ५० लिटर डिजेल भर्न करिब ३२ युरो बढी खर्च भइरहेको छ। त्यसमध्ये करिब १६ युरो बराबरको वृद्धि इन्धन प्रशोधनबाट हुने नाफामा आएको वृद्धिसँग सम्बन्धित रहेको अध्ययनमा उल्लेख छ।
युरोपेली केन्द्रीय बैंकको अनुमानअनुसार डिजेलको प्रतिलिटर प्रशोधन नाफा फेब्रुअरीमा करिब ०.१० युरो रहेकोमा सेप्टेम्बर १४ आसपास ०.४१ युरो पुगेको थियो ।
अध्ययनमा सवारीसाधनमा इन्धन भर्न तथा विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने प्रत्यक्ष खर्चलाई मात्र तुलना गरिएको छ। यसका लागि डिजेल सवारीसाधनले १०० किलोमिटरमा औसत ६.९ लिटर इन्धन खपत गर्ने र ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनले सोही दूरीमा औसत २०.२ किलोवाट घण्टा विद्युत् खपत गर्ने आधार लिइएको छ।
प्रतिकिलोवाट घण्टा विद्युत्को औसत मूल्य ०.३४३ युरोका आधारमा गरिएको गणनाले विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने खर्च डिजेलमा हुने इन्धन खर्चभन्दा उल्लेखनीय रूपमा कम रहेको देखाएको हो।
संस्थाका अनुसार विद्युत् र ग्यासको मूल्यबीचको सम्बन्ध तथा घरायसी विद्युत् मूल्यमा देखिने ढिलो प्रभावलाई समेत अध्ययनमा समेटिएको छ। त्यसैले विद्युतीय सवारीसाधनको चार्जिङ खर्चसम्बन्धी अनुमान वास्तविक खर्चको उच्च सीमातर्फ हुन सक्ने सम्भावना रहेको संस्थाले जनाएको छ।
यसअघि गरिएको अर्को अध्ययनमा आठ ठूला तेल कम्पनीमध्ये छवटाले सन् २०२६ को दोस्रो त्रैमासिकमा युरोपेली संघभित्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी नाफा कमाएको उल्लेख गरिएको थियो।
त्यस्तै, सोमबार सार्वजनिक गरिएको अर्को अध्ययनले युरोपेली संघका नौ प्रमुख बजारमध्ये छवटा बजारमा ब्याट्रीबाट चल्ने विद्युतीय भारी ट्रकको कुल स्वामित्व खर्च डिजेल ट्रकको तुलनामा कम रहेको देखाएको छ। ती छवटा बजारले युरोपेली संघमा बिक्री हुने नयाँ भारी ट्रकको करिब ४६ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ।
ऊर्जा तथा आवाससम्बन्धी युरोपेली संघका आयुक्त डान योर्गेन्सेनले सम्भावित रूपमा उच्च ग्यास मूल्यको प्रभाव कम गर्न सदस्य राष्ट्रहरूले ऊर्जा बचतसम्बन्धी उपाय अपनाउनेबारे विचार गर्नुपर्ने बताएका छन् ।
यसैबीच, ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्टले ऊर्जा संकटको प्रभाव ग्यासमा मात्र सीमित नभएकाले तेल तथा डिजेलको मूल्यवृद्धितर्फ पनि पर्याप्त ध्यान दिन युरोपेली आयोगलाई आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस्