काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेवाग्राहीको काम समयमा नै नगरेको भन्दै चौतर्फी गुनासो बढ्न थालेको छ ।
सरकारले असार ५ गते धितोपत्र बोर्डको रिक्त अध्यक्षमा डा गोपाल भट्टलाई नियुक्त गरेको छ । बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त भएको तीन महिना बितिसक्दा सेवाग्राहीको काम प्रभावकारी रूपमा समयमा नै हुन नसकेको भन्दै गुनासो बढ्न थालेको हो । सेबोनमा डा भट्ट अध्यक्ष भएर आउनु भन्दा अघिदेखि नै रोकिएका साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया अहिले पनि सुरु हुन सकेको छैन ।
डा. भट्ट बोर्डमा आएको तीन महिना पुग्दा समेत आईपीओ, हकप्रद निष्कासनको अनुमति खुलेको छैन । बोर्डले कम्पनीलाई सेयर निष्कासन गर्न अनुमति दिन छोडेर एआईको सहारामा विभिन्न कागजात सङ्कलन गरेर बसेको गुनासो व्यापक रूपमा बढ्न थालेको छ ।
पछिल्लो समय बोर्डका कर्मचारी बाँकी काम छोडेर अध्यक्षको निर्देशन भन्दै कागजात सङ्कलनमा व्यस्त रहेको बताइन्छ । “अहिले सेबोनमा काम हुन छोडेको छ । बोर्डमा गयो भने कर्मचारी अध्यक्ष ज्यूले यस्तो, उस्तो अवधारणा पत्र ल्याउने भन्नु भएको छ । हामी त्यही काममा व्यस्त छौ । अहिले बोर्ड फरक ढङ्गले कागजात सङ्कलन गरेर बजारलाई व्यापक सुधार गर्ने भनेर लागेको छ भन्नुहुन्छ” एक सेवाग्राहीले भने, “बोर्डमा आजकाल जाँदा यो बाहेक अरू केही कुरा सुनिँदैन । बर्षौदेखि आईपीओ, हकप्रद सेयर सेबोनको पाइपलाइमा रहेका आईपीओ निष्कासन पुरै ठप्प भएका छन् । प्रमोटर सेयरको अभिलेख हुन सकेको छैन । सेयरको कन्भर्जन रोकेको छ । ऋणपत्र स्वीकृत रोकेको छ । हकप्रदको हालत उस्तै छ ।”
ती सेवाग्राहीका अनुसार सेबोनमा पुग्दा अहिले सबै कर्मचारी नयाँ गठन भएको नियामक निकाय जस्तो कानुन निर्माणमा लागेको जसरी कागजात तयार पार्न लागेको देखिन्छ । अहिले अन्य कुनै पनि काम नहुने उनको गुनासो छ ।
बोर्ड स्रोतका अनुसार अध्यक्ष डा. भट्ट निर्णय प्रक्रियामा कमजोर जस्तै देखिएका छन् । यसअघिका अध्यक्ष आफैले निर्णय गर्ने गरेका काम समेत डा भट्टले बोर्ड बैठकमा नै लैजानु पर्छ भनेपछि कतिपय सामान्य काम पनि रोकिएको बोर्डका अधिकारीहरूको दाबी छ ।
“यसअघिका अध्यक्ष ज्यूहरूले आफैले निर्णय गर्ने गरेका काम अहिलेका अध्यक्षले बोर्डमा लैजान खोज्नु भएको छ । आफूले मात्रै निर्णय गर्दा भोलीका दिनमा प्रश्न उठ्छन् भन्ने लागेर उहाँले बोर्डमा लैजान खोज्नु भएको जस्तो देखिएको छ” बोर्डका एक अधिकारीले भने, “त्यही भएर आईपीओ, हकप्रद, प्रमोटर सेयरको अभिलेख जस्ता काम रोकिएको हो ।”
अध्यक्ष भट्टले जानाजान ढाँटे
आफू अध्यक्ष भएको तीन महिनासम्म दर्जन बढी विषयमा कागजात सङ्कलनमा व्यस्त रहेका भट्टलाई आईपीओ निष्कासन गर्न अनुमति दिन नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको छ । प्रश्न उठेपछि उनले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा असोज १५ गते आईपीओ निष्कासन गर्न अनुमति दिने दाबी गरेका थिए ।
उक्त कार्यक्रममा उनले असोज १५ भित्र आईपीओलाई अनुमति दिने भनेर दाबी गरेको भए पनि त्यो दाबी असफल प्राय: भएको छ । बोर्ड निकट स्रोतका अनुसार अध्यक्षले भनेपछि एउटा कम्पनीलाई भए पनि आईपीओ निष्कासन गर्न अनुमति दिएर आफूमाथि काम नगरेको भन्दै लागेको आरोप कम गर्ने प्रयास भएको थियो । त्यसका लागि एउटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमतिका लागि तयारी अवस्थामा राखिएको पनि थियो । तर त्यो पुरा हुन सकेन ।
स्रोतका अनुसार अध्यक्षको बाचा पुरा गर्नकै लागी भए पनि आज बुधबारका लागि बोर्ड बैठक बोलाइएको थियो । बोर्ड बैठकका लागि कोरम नपुग्ने भएर बैठक हुने सकेन । बैठकमा कोरम पुग्दैन भन्ने अध्यक्ष भट्टलाई पहिला नै थाहा थियो ।
हाल धितोपत्र बोर्डको सञ्चालक समिति नपुरो छ । अध्यक्ष भट्टले बोर्ड बैठक बस्नका लागि कोरम नपुग्ने थाहा भएर पनि १५ गते आईपीओ निष्कासन गर्न अनुमति दिने भन्दै ढाँटेका थिए । हाल धितोपत्र बोर्डमा अध्यक्ष, कानुन मन्त्रालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका प्रतिनिधि र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि मात्रै छन् । भएका सदस्य मध्ये पनि एक जना विदेश भ्रमणमा रहेको बोर्ड निकट स्रोतको भनाइ छ ।
बोर्डको सञ्चालकमा अर्थ मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि र विज्ञ सदस्य रिक्त छन् । आफ्नो बोर्डलाई पूर्णता दिनका लागि सम्बन्धित निकायमा तीन महिनासम्म पहल गर्न छोडेर बोर्ड अध्यक्ष भट्ट ढाँट्नमा तल्लीन देखिएका छन् ।
शक्तिशाली सरकारले बोर्डको नेतृत्व गर्न पठाएका भट्टको सञ्चालक समितिमा अर्थको प्रतिनिधि औपचारिक रूपमा नपठाउनुलाई कतै अर्थ मन्त्रालयले पनि सेबोनलाई असहयोग गर्न खोजेको त होइन भन्ने आशङ्का समेत जन्माउन थालेको बताइन्छ ।
बोर्डले अध्यक्षमा डा भट्टलाई पाएपछि त्यहाँका कर्मचारी पनि दक्ष, योग्य, इमान्दार अध्यक्ष पाएको, कुनै पनि स्वार्थ नभएको, स्वार्थ समूहको चङ्गुलमा नफस्ने नेतृत्व पाएको भन्दै निकै उत्साहित भएका थिए । तर, बोर्डका कर्मचारीको उत्साह तीन महिना पुरा नहुँदै खस्कन थालेको बताइन्छ ।
सेयर बजारमा ज्ञाताका रूपमा परिचित डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत भएका कारण समयमा नै निर्णय हुन्छ, निर्णय प्रक्रियामा ढिलाइ हुँदैन, बोर्डमा लामो समयदेखि रोकिएर बसेका सेयर निष्कासनका कामले पूर्णता पाउने, गल्ती गर्नेलाई कारबाही होला भन्ने आशा सबैमा थियो । कर्मचारीहरूका अनुसार तर अहिले अध्यक्ष भट्ट बढी इगोइस्टीक जस्तो देखिने, निर्णय गर्न डराएर सबै फाइल बोर्डमा लैजानु पर्छ भन्ने, अरूको सुझाव कम सुन्ने र विश्वविद्यालयले गराउने थेसिस जसरी कागजात सङ्कलनमा लागेपछि निराशा सृजना हुन थालेको बताउँछन् ।
“बोर्डमा अध्यक्ष आउँदा हामीमा निकै उत्साह थियो । तर अहिले उहाँ बजारको हितमा गर्नुपर्ने काम, नियामक निकायले गर्नुपर्ने काम भन्दा पनि नयाँ संस्थामा आएर काम गरे जसरी कागजात सङ्कलनमा लाग्नु भएको छ । नगरी नहुने कामहरू रोकिएका छन् । त्यसमा ध्यान छैन । उहाँलाई यो विषय यस्तो हो भनेर सुझाव दिँदा त्यसलाई इगोको रूपमा लिने जस्तो देखिन थालेको छ । निर्णयमा क्षमतामा पनि प्रश्न उठ्न थालेको छ । त्यही भएर कर्मचारी निराश हुन थालेका छन्” ती कर्मचारीले भने ।
सेबोनमा अध्यक्ष आएपछि अहिले एआईको सहयोगमा कागजात सङ्कलनको काम भने निकै बढेको छ ।
स्रोतका अनुसार अहिले बोर्डले च्याट जिपीटीको पेड भर्सन किनेको छ । पहिला अध्यक्षको निजी भर्सनबाट काम हुने गरेको भए पनि अहिले सेबोनले निर्णय गरेर क्लर्डको प्रिमियम भर्सन लिएको छ । २ वटा भर्सनका लागि वर्षका ४८० डलर खर्च गरिएको छ ।
बोर्डमा आएपछि अध्यक्ष भट्टले तीन महिनामा अन्य कागजात सङ्कलन गरे पनि कमोडिटी बजारका ‘अवधारण पत्र’ वा यस्तै नाम दिएर कागजात सङ्कलन भने गर्न भ्याएका छैनन् ।
बोर्डमा अध्यक्ष भट्ट आएपछि अनुगमनको काम पनि प्रभावकारी हुन सकेको छैन । यस्तै यसअघि कैफियत देखिएका कतिपय फाइलको काम समेत अघि बढ्न नसकेको बोर्ड निकट स्रोतको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्