काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब सेट–टप बक्सबिनै प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले एन्ड्रोइडमा आधारित स्मार्ट टीभी प्रयोगकर्ताका लागि भर्चुअल सेट–टप बक्स सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार असोज १५ गतेदेखि एन्ड्रोइड टीभीमा भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सकिनेछ । यसका लागि ग्राहकले आफ्नो एन्ड्रोइड स्मार्ट टीभीमा गुगल प्लेस्टोरमार्फत ‘स्मार्ट एनटीटीभी’ एप खोजेर इन्स्टल गर्नुपर्नेछ । एप इन्स्टल गरेपछि सेट–टप बक्सको आवश्यकता बिना नै एनटीटीभी सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमले हाल एन्ड्रोइड टीभीका लागि मात्र यो सुविधा उपलब्ध गराएको भए पनि निकट भविष्यमा सबै प्रकारका स्मार्ट टीभीमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी गरेको छ । ग्राहकलाई थप सहज र सुविधाजनक रूपमा टेलिभिजन सेवा उपलब्ध गराउने उद्देश्यले यो प्रविधि विकास गरिएको कम्पनीको भनाइ छ ।
नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज खरिद गर्दा १ हजार रुपैयाँ छुट पाउने व्यवस्था समेत गरिएको छ ।
नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । भर्चुअल सेट–टप बक्ससहित एनटीटीभी सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि कम्पनीले विभिन्न प्याकेजसमेत उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डाटाको सुविधा समेत समावेश गरिएको छ । एनटीटीभीका उपलब्ध प्याकेज तथा सेवासम्बन्धी विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट तथा ‘नेपाल टेलिकम’ एपमार्फत लिन सकिनेछ ।









प्रतिक्रिया दिनुहोस्