काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न ग्राजुएट स्कुलका डिन तथा निर्देशनालयका निर्देशक पदका लागि आवेदन खुला गरेको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गर्दै ६ वटा ग्राजुएट स्कुलका डिन र दुई निर्देशनालयका कार्यकारी निर्देशकसहित ९ पदमा प्रतिस्पर्धाका माध्यमबाट पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
विश्वविद्यालयका अनुसार ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, ग्राजुएट स्कुल अफ एजुकेसन, ग्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, ग्राजुएट स्कुल अफ ल र ग्राजुएट स्कुल अफ म्यानेजमेन्टका लागि एक–एक जना डिन नियुक्त गरिनेछ ।
त्यसैगरी अनुसन्धान निर्देशनालय र पाठ्यक्रम विकास निर्देशनालयका लागि एक–एक जना कार्यकारी निर्देशक नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ ।
मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ तथा विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावलीअनुसार पदपूर्ति गर्न लागिएको हो । इच्छुक उम्मेदवारले सम्बन्धित विषयको शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणित प्रतिलिपि र विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजनासहित व्यक्तिगत विवरण (बायोडाटा) पेस गर्नुपर्नेछ ।
विश्वविद्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् २०८३ मङ्सिर १३ गते राति १२ बजेसम्म आवेदन दिन समयसीमा तोकेको छ । आवश्यक कागजातसहितको आवेदन विश्वविद्यालयको आधिकारिक इमेलमा पठाउनुपर्नेछ ।
रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना बढीमा २ हजार ५०० शब्दको हुनुपर्नेछ । उक्त कार्ययोजनामा सम्बन्धित संकाय वा निर्देशनालयको विद्यमान अवस्थाको विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा तथा स्रोत, बजेट र अनुगमनका विषय समेट्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले योग्य तथा इच्छुक उम्मेदवारलाई तोकिएको समयभित्र आवेदन पेस गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्