Skip to content

ऊर्जा श्रेष्ठ भन्छन्- लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको आवश्यकता तथा सरोकारवालाको चासोलाई समेत ध्यान दिनुपर्ने बताए ।

बिहीबार मन्त्री श्रेष्ठसमक्ष आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले वार्षिक प्रतिवेदन हस्तान्तरण गरे । त्यस क्रममा मन्त्री श्रेष्ठले पछिल्ला विपद्का घटनाले नेपालको ऊर्जा प्रणालीको विविधीकरणबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था सिर्जना गरेको बताए । उनले ऊर्जा मिश्रणलाई विविधीकरण गर्दै ऊर्जा सुरक्षालाई बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो । आयोगले नियामकीय व्यवस्था तयार गर्दा लगानीकर्तासहित सरोकारवालासँग पर्याप्त समन्वय गर्नुपर्नेमा उहाँले जोड दिए । ऊर्जा क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको अवस्थामा स्पष्ट, अनुमानयोग्य र विश्वासिलो नियामकीय वातावरणले मात्रै लगानी आकर्षित गर्न सक्ने उहाँको धारणा थियो ।

आयोगको वार्षिक प्रतिवेदनमा विद्युत् क्षेत्रको बदलिँदो आवश्यकता, बजार विकास, लगानी वातावरण र उपभोक्ता हितलाई ध्यानमा राखेर विभिन्न नियामकीय उपकरण निर्माण तथा कार्यान्वयन गरिएको उल्लेख छ् । आयोगले एक वर्षको अवधिमा विवाद समाधानसम्बन्धी विनियमावली, २०८२, विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२, जलाशययुक्त विद्युत् केन्द्रको विद्युत् खरिद–बिक्री दरसम्बन्धी निर्देशिका, २०८२ तथा उपभोक्ता विद्युत् महसुल दर निर्धारणसम्बन्धी निर्देशिका, २०८३ जारी गरेको छ ।

त्यस्तै खुला पहुँचसम्बन्धी व्यवस्थाले विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रयोग गर्ने योग्यता, आवेदन र स्वीकृति प्रक्रिया, प्राथमिकता तथा दस्तुरसम्बन्धी विषयलाई स्पष्ट बनाएको छ । यसले उत्पादनकर्ता, विद्युत् व्यापारी तथा ठूला उपभोक्तालाई विद्यमान प्रणालीमार्फत विद्युत् कारोबार गर्न थप व्यवस्थित आधार तयार गरेको छ । जलाशययुक्त आयोजनाबाट उत्पादित विद्युतको खरिद–बिक्रीलाई व्यवस्थित गर्न छुट्टै नियामकीय व्यवस्था गरिएको छ ।

आयोगले उपभोक्ता विद्युत् महसुल निर्धारणसम्बन्धी निर्देशिका, २०७६, विद्युत् अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६ तथा विद्युत् कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृतिसम्बन्धी निर्देशिका, २०७८ को पुनरावलोकन र परिमार्जनसमेत अघि बढाएको छ । नियामकीय निर्णयलाई अध्ययन र तथ्यमा आधारित बनाउन आयोगले विद्युतको लागत तथा महसुल संरचना, उपभोक्ता महसुल, जलविद्युत् सञ्चालन लागत र उत्पादन लागतसम्बन्धी अध्ययन अघि बढाएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी आयोगले लामो समयदेखि विवादित डेडिकेटेड फिडर तथा ट्रंक लाइनसम्बन्धी विद्युत् महसुलका दुई विवादमा निर्णय गरेको विषय प्रतिवेदनमा उल्लेख छ । वार्षिक प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो कार्यसम्पादनलाई मुख्यतः तीन रणनीतिक प्राथमिकता मा केन्द्रित गर्ने भएको छ । पहिलो, संस्थागत सुदृढीकरण, दोस्रो, नियामकीय व्यवस्थाको विस्तार तथा सबलीकरण र तेस्रो, विद्युत क्षेत्रको पुनःसंरचनाका लागि नियामकीय सहजीकरण रहेका छन् ।

विद्युत् उत्पादन, प्रसारण, व्यापार तथा वितरण क्षेत्रको संरचनागत विकास र पुनःसंरचनालाई स्पष्ट नियामकीय सिद्धान्त, मापदण्ड र संस्थागत संयन्त्रमार्फत व्यवस्थित तथा पारदर्शी बनाउन आफ्नो क्षेत्राधिकारभित्र आवश्यक सहजीकरण गर्ने आयोगले जनाएको छ ।

त्यस्तै, आन्तरिक विद्युत् खपत वृद्धि, ऊर्जा सुरक्षा, विद्युत् बजारको विकास, लगानीको सुरक्षा तथा उपभोक्ताको हकहित संरक्षणलाई केन्द्रमा राखेर नियामकीय काम अघि बढाइनेछ । बाढीबाट विद्युत् पूर्वाधारमा भएको क्षतिलाई समेत आयोगले आगामी नियामकीय कार्यमा समेट्ने भएको छ । प्रसारण तथा उत्पादन पूर्वाधारमा परेको असरले विद्युत् प्रणालीको विपद् प्रतिरोधी क्षमता र उत्थानशीलता बलियो बनाउनुपर्ने आवश्यकता देखाएको आयोगको निष्कर्ष छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima