Skip to content

दीपक भट्टको संरक्षणको माग गर्दै उनका पिताद्वारा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन

काठमाडौं । दीपक भट्टका पिता चतुर्भुज भट्टले आफ्नो छोराको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हकको संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन् ।

चतुर्भुज भट्टले असोज २३ गते पुल्चोकस्थित आयोगको कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न र आफ्नो छोराको मानव अधिकार संरक्षणका लागि आवश्यक पहल गर्न माग गरेका हुन् ।

उनले विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा दीपक भट्टलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने तथा सामाजिक प्रतिष्ठामा आघात पु¥याउने प्रकृतिका समाचार तथा सामग्री प्रकाशित भइरहेको दाबी गरेका छन् । यस्ता सामग्रीले निष्पक्ष न्याय पाउने अधिकारमा समेत असर पार्न सक्ने उनको भनाइ छ ।

विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएका छन् । आफूले नगरेको कार्यलाई सत्यजस्तो बनाएर प्रस्तुत गरिएको भन्दै उनले त्यस्ता सामग्रीले आफ्नो छोराको प्रतिष्ठामा आघात पुर्याएको उल्लेख गरेका छन् ।

यसैबीच, भट्टले आफ्नो छोरालाई असोज १७ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको विषयमा समेत प्रश्न उठाएका छन्। दीपकविरुद्धका मुद्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेको उल्लेख गर्दै उनले सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे आफूहरूलाई जानकारी नदिइएको बताएका छन् ।

सरुवाको औचित्य र आवश्यकतामाथि प्रश्न उठाउँदै उनले यसले विचाराधीन मुद्दाको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न सक्ने तथा परिवारको मानसिक पीडा थप बढाएको दाबी गरेका छन्।

दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सार्नुको आधार र कारण तथा नख्खु कारागारमा रहँदाको आचरणबारे जानकारी माग गर्दै नख्खु कारागार र कारागार व्यवस्थापन विभागमा समेत निवेदन दिएको उनले बताएका छन्। तर, निवेदन दिएको हालसम्म कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ।

त्यसैगरी, कारागारबाट फोन गरेको लगायतका विषयमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उनले सम्बन्धित सञ्चारमाध्यम तथा प्रेस काउन्सिल नेपालमा पनि निवेदन दिएको उल्लेख गरेका छन्। संविधानको धारा १९, प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिता, २०७३ (संशोधनसहित) बमोजिम सञ्चारमाध्यमले जिम्मेवार ढंगले काम गरे–नगरेको सुनिश्चित गर्न उनले आग्रह गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न, कारागार सरुवासम्बन्धी निर्णय तथा कागजात अध्ययन गर्न र आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न माग गरिएको छ। साथै, दीपकको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हकको संरक्षणका लागि आवश्यक पहल गर्न र कारागार सरुवाको औचित्य विचार गरी उनलाई पुनः नख्खु कारागारमा फर्काउन सम्बन्धित निकायलाई निर्देशन दिनसमेत आग्रह गरिएको छ।

चतुर्भुज भट्टले कुनै पनि निकायको निष्पक्ष अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध पु¥याउने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारेका छन्। सत्यतथ्यको निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको सम्मान, भ्रामक समाचारबाट हुने चरित्रहत्या रोकथाम तथा आफ्नो छोराको मानव अधिकार र मौलिक हकको संरक्षणका लागि आफूले निवेदन दिएको उनको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima