काठमाडौं । इन्फोडेभलपर्स प्रालिले नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो चरणको अवसरमा ग्राहक पहिचान तथा प्रमाणीकरणसम्बन्धी नयाँ डिजिटल प्लेटफर्म ‘भेरिक्स’ सार्वजनिक गरेको छ। वित्तीय तथा व्यावसायिक संस्थाहरूको ग्राहक पहिचान, खाता खोल्ने प्रक्रिया र नियामकीय अनुपालनलाई सहज तथा व्यवस्थित बनाउने उद्देश्यले कम्पनीले उक्त प्लेटफर्म सार्वजनिक गरेको हो ।
असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भइरहेको नेपाल फिनटेक एक्स्पोमा सार्वजनिक गरिएको भेरिक्सले बैंक तथा वित्तीय संस्था, सहकारी र अन्य व्यावसायिक संस्थालाई ग्राहकसम्बन्धी विभिन्न प्रक्रिया एउटै प्रणालीबाट सञ्चालन गर्न सहयोग गर्नेछ ।
भेरिक्समा अनलाइन खाता खोल्ने, डिजिटल माध्यमबाट ग्राहक पहिचान गर्ने, भिडियोमार्फत ग्राहक प्रमाणीकरण गर्ने, व्यवसायको पहिचान तथा प्रमाणीकरण गर्ने, सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम जाँच गर्ने, जोखिम मूल्याङ्कन गर्ने र कार्यप्रवाह व्यवस्थापन गर्ने सुविधाहरू समावेश छन् ।
यी सुविधाले संस्थाहरूलाई ग्राहकको पहिचान तथा प्रमाणीकरण, जोखिम मूल्याङ्कन र नियामकीय प्रावधानको पालना गर्न आवश्यक प्रक्रियालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।
यस प्लेटफर्ममार्फत ग्राहक आबद्ध गराउनेदेखि पहिचान तथा विवरण प्रमाणीकरण गर्नेसम्मका काम एउटै प्रणालीबाट व्यवस्थापन गर्न सकिनेछ । साथै, अन्य प्रणाली तथा सेवासँग जोडेर प्रयोग गर्न सकिने भएकाले ग्राहकसम्बन्धी आवश्यक जानकारी व्यवस्थापन र प्रमाणीकरण प्रक्रियासमेत सहज हुने कम्पनीको भनाइ छ ।
इन्फोडेभलपर्सका अनुसार वित्तीय तथा व्यावसायिक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा ग्राहकको पहिचान सुरक्षित राख्ने, विवरण प्रमाणीकरण गर्ने र नियामकीय व्यवस्थाअनुसार ग्राहक व्यवस्थापन गर्ने प्रणालीको आवश्यकता बढिरहेको छ । यही आवश्यकतालाई सम्बोधन गर्न भेरिक्स विकास गरिएको कम्पनीले जनाएको छ ।
नेपाल फिनटेक एक्स्पोमा सहभागी ग्राहक तथा आगन्तुकले स्टल एफ३ मा पुगेर भेरिक्सका सुविधाबारे जानकारी लिनुका साथै यसको परीक्षणका लागि समय बुक गर्न सक्नेछन् ।









प्रतिक्रिया दिनुहोस्