Skip to content

नेपाल-भारत पारवहन तथा यातायात कनेक्टिभिटीसम्बन्धी सहमतिको एसोसिएसनद्वारा स्वागत

nabil
global ime

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिको स्वागत गरेको छ ।

एसोसिएसनले दुई देशबीचको ऐतिहासिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, पारवहन र यातायात पूर्वाधारको विकासमार्फत आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले भएका सहमति नेपालको वैदेशिक व्यापार तथा समग्र आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेको छ ।

नेपालको तेस्रो मुलुकसँगको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज, प्रतिस्पर्धी र प्रभावकारी बनाउन भारतको गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह तथा आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसमेत प्रयोग गर्न सकिने घोषणालाई एसोसिएसनले सकारात्मक रूपमा लिएको जनाएको छ ।

यसबाट नेपालले समुद्री बन्दरगाहका थप विकल्प प्राप्त गर्नुका साथै अन्तर्राष्ट्रिय व्यापारका लागि वैकल्पिक पारवहन मार्ग उपलब्ध हुने एसोसिएसनको भनाइ छ । यसले भविष्यमा ढुवानी समय र लागत घटाउन तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक कार्यविधि निर्माण तथा पारवहन सन्धिको प्रोटोकल संशोधन प्रक्रिया शीघ्र सम्पन्न हुनेमा पनि एसोसिएसनले विश्वास व्यक्त गरेको छ ।

त्यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा र नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिलाई पनि एसोसिएसनले दीर्घकालीन यातायात तथा लजिस्टिक्स पूर्वाधार विकासका लागि महत्वपूर्ण आधारका रूपमा लिएको छ ।

रेलमार्गको विकास र विस्तारले ठूलो परिमाणमा मालसामान ढुवानी गर्न सहज बनाउनुका साथै सडक यातायातमाथिको निर्भरता घटाउने, ढुवानी लागत न्यूनीकरण गर्ने र नेपालको व्यापारिक प्रतिस्पर्धात्मक क्षमता बढाउने अपेक्षा गरिएको छ ।

यसैगरी, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले नेपालको हवाई कनेक्टिभिटी विस्तारमा सहयोग पुग्ने एसोसिएसनको विश्वास छ । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न तथा भविष्यमा हवाई कार्गो र व्यापारिक गतिविधि प्रवर्द्धन गर्न अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

एसोसिएसनका अनुसार यी सहमतिको प्रभावकारी कार्यान्वयनले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर सिर्जना गर्नुका साथै लजिस्टिक्स लागत घटाउन, व्यापार प्रक्रिया सरल बनाउन, निर्यात प्रवर्द्धन गर्न, औद्योगिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन र वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न योगदान पुर्‍याउन सक्छ ।

यसका लागि सरकार तथा सम्बन्धित निकायले द्विपक्षीय सहमतिलाई समयमै कार्यान्वयनमा लैजान आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अघि बढाउनुपर्ने एसोसिएसनको सुझाव छ । साथै, विद्यमान पारवहन प्रक्रियालाई थप सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन पनि उसले आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T