Skip to content

हाइलाइफ एग्रोको ११औँ साधारणसभा सम्पन्न, अमेरिका, युरोप, अस्ट्रेलिया र जापानसम्म बजार विस्तार

Screenshot
काठमाडौं । हाइलाइफ एग्रो एण्ड फुड्स इण्डष्ट्रिज लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले नेपाली खाद्य उत्पादनको बजार अमेरिका, युरोप, अस्ट्रेलिया र जापानसम्म विस्तार गरेको छ । कम्पनीले दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा समेत आफ्ना उत्पादन पु¥याउँदै अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकता दिएको छ ।
साधारणसभामा अध्यक्ष अम्बिकाप्रसाद पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार प्रतिकूल व्यावसायिक वातावरणका बीच पनि कम्पनीले आफ्नो बजार पहुँच कायम राख्दै दीर्घकालीन व्यावसायिक आधार बलियो बनाउने प्रयास गरेको छ । कम्पनीले ३५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
अध्यक्ष पौडेलले ‘जहाँ नेपाली त्यहाँ नेपाली उत्पादन’ भन्ने नारासहित नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रयासले सकारात्मक गति लिएको बताएका छन् । उनका अनुसार निर्यातले कम्पनीको बजार विस्तार गर्नुका साथै विदेशी मुद्रा आर्जनमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउँछ । यसले कम्पनीलाई एउटै बजारमाथिको निर्भरता घटाउन पनि सहयोग गर्छ ।
काठमाडौंको बुढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा सम्पन्न साधारणसभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन, वित्तीय अवस्था तथा आगामी व्यावसायिक रणनीतिबारे छलफल भएको थियो ।
अध्यक्ष पौडेलले आर्थिक वर्ष २०८२/८३ मुलुक र विश्व अर्थतन्त्रका लागि उतारचढावपूर्ण रहेको उल्लेख गरेका छन् । भदौमा भएको जेनजी आन्दोलनले देशको सामाजिक, राजनीतिक तथा आर्थिक वातावरणमा प्रभाव पारेको र अन्तर्राष्ट्रिय स्तरमा बढेको भूराजनीतिक तनाव, विशेषगरी मध्यपूर्वको द्वन्द्वले ऊर्जा, ढुवानी, कच्चा पदार्थ तथा खाद्य आपूर्ति शृङ्खलामा दबाब सिर्जना गरेको उनको भनाइ छ ।
नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा अन्तर्राष्ट्रिय घटनाक्रमको असर उत्पादन लागत, कच्चा पदार्थको उपलब्धता र बजारसम्मको पहुँचमा पर्ने भएकाले उद्योग व्यवसाय सञ्चालन चुनौतीपूर्ण बनेको उनले उल्लेख गरेका छन् ।
यस्तो परिस्थितिमा पनि कम्पनीले लागत नियन्त्रण, कार्यगत दक्षता अभिवृद्धि र स्वदेशी कच्चा पदार्थको उपयोग बढाउने कामलाई निरन्तरता दिएको पौडेलले बताएका छन् । कम्पनीको विस्तृत कार्यसम्पादन र वित्तीय अवस्था सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षण भएको वित्तीय विवरणमा समेटिएको छ ।
कम्पनीले स्वदेशी बजारमा निर्माण गरेको ‘हाईलाइफ’ब्राण्डको पहिचानलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य लिएको छ । अमेरिका, जापान, अस्ट्रेलिया, युरोप, दक्षिण कोरिया र यूएईलगायतका बजारमा उत्पादन पु¥याउनुलाई कम्पनीले बजार विस्तारको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
अध्यक्ष पौडेलका अनुसार अहिलेका उपभोक्ताले स्वादसँगै पोषण, खाद्य सुरक्षा, स्वच्छता र सहज उपलब्धतालाई समेत प्राथमिकता दिन थालेका छन् । यही बदलिँदो अपेक्षालाई ध्यानमा राख्दै कम्पनीले गुणस्तरीय, पोषणयुक्त र सर्वसुलभ खाद्य वस्तु उपभोक्तासम्म पु¥याउने लक्ष्य अघि बढाएको छ ।
उनले ‘हाईलाइफ’ ब्राण्ड उपभोक्ताको विश्वास र आत्मीयतासँग जोडिएको उल्लेख गर्दै यसलाई कम्पनीको व्यावसायिक सफलताभन्दा पनि उपभोक्ताले वर्षौँदेखि देखाउँदै आएको भरोसाको प्रतिफलका रूपमा व्याख्या गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पहुँच बढ्दै जाँदा गुणस्तर र खाद्य सुरक्षाप्रतिको जिम्मेवारीसमेत बढ्ने भएकाले कच्चा पदार्थको छनोटदेखि उत्पादन, प्रशोधन, प्याकेजिङ, भण्डारण र वितरणसम्मका सबै चरणमा गुणस्तर कायम गर्ने विषयलाई कम्पनीले प्राथमिकतामा राखेको छ ।
हाईलाइफले उत्पादन र बिक्रीमा मात्र सीमित नभई नेपाली कृषि उत्पादनलाई उद्योगसँग जोड्ने, स्थानीय स्रोतको उपयोग बढाउने र आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने रणनीति लिएको छ ।
अध्यक्ष पौडेलले कम्पनीले ३५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उल्लेख गर्दै युवालाई स्वदेशमै अर्थपूर्ण र दीर्घकालीन रोजगारीका अवसर उपलब्ध गराउनु पनि कम्पनीको प्राथमिकता रहेको बताएका छन् ।
त्यस्तै, उद्योगसँग जोडिएका कृषक, आपूर्तिकर्ता र व्यावसायिक साझेदारको क्षमता तथा बजार पहुँच बढाउने लक्ष्य कम्पनीले लिएको छ । स्वदेशी कच्चा पदार्थ र स्थानीय सीपमा आधारित उद्योगले रोजगारी सिर्जना गर्नुका साथै कृषि उत्पादनको मूल्य अभिवृद्धि र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने पौडेलको भनाइ छ ।
कम्पनीले आगामी दिनमा स्वदेशी बजारमा वितरण सञ्जाल विस्तार गरी बजार हिस्सा बढाउने रणनीति अघि सारेको छ । उपभोक्ताको रुचि र स्वास्थ्यप्रतिको बढ्दो सचेततालाई ध्यानमा राख्दै नयाँ तथा पोषणयुक्त उत्पादन विकास गर्ने योजना पनि कम्पनीले बनाएको छ ।
त्यसैगरी निर्यात बजार र विदेशमा बिक्री हुने उत्पादनको दायरा विस्तार गर्ने, स्वदेशी कच्चा पदार्थको उपयोग बढाउने तथा कृषकसँगको साझेदारी सुदृढ गर्ने कम्पनीको प्राथमिकता छ । प्रविधि र सञ्चालन प्रक्रियामा सुधारमार्फत उत्पादकत्व बढाउने तथा लागत घटाउने रणनीति पनि प्रतिवेदनमा समेटिएको छ ।
कम्पनीले यी प्राथमिकतामार्फत दीर्घकालीन व्यावसायिक वृद्धि हासिल गर्दै सेयरधनीको लगानीमा उचित र स्थिर प्रतिफल सुनिश्चित गर्ने लक्ष्य लिएको छ । अध्यक्ष पौडेलले कम्पनीप्रति विश्वास राख्ने सेयरधनी, उपभोक्ता, वितरक, विक्रेता, कृषक, आपूर्तिकर्ता, कर्मचारी तथा व्यावसायिक साझेदारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा गुणस्तर, विश्वास र नवीनतालाई आधार बनाएर नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima