काठमाडौं । नेपालको इन्टरनेट सेवा क्षेत्रलाई कृत्रिम बौद्धिकता (एआई) र बौद्धिक नेटवर्क प्रविधितर्फ उन्मुख गराउने उद्देश्यसहित ह्वावेले ‘ह्वावे नेपाल आईएसपी इभेन्ट २०२६’ आयोजना गरेको छ।
‘एक्सेलेरेट एआई, बुस्ट इन्टेलिजेन्स’ अर्थात् एआईको विकासलाई तीव्रता दिऔँ, बौद्धिक प्रविधिको प्रयोग बढाऔँ भन्ने नारासहित आयोजित कार्यक्रममा इन्टरनेट सेवा प्रदायक (आईएसपी), सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका उद्यमी र सरोकारवालाहरू सहभागी थिए।
कार्यक्रममा नयाँ पुस्ताको कनेक्टिभिटी, एआईमा आधारित नेटवर्क सञ्चालन, डिजिटल पूर्वाधार र इन्टरनेट सेवा प्रदायकका लागि विकास भइरहेका नयाँ व्यावसायिक अवसरबारे छलफल भएको थियो।
कार्यक्रमको उद्देश्य नेपालको डिजिटल रूपान्तरणलाई सहयोग पुर्याउनुका साथै आईसीटी क्षेत्रको इकोसिस्टमलाई थप सुदृढ बनाउनु रहेको ह्वावेले जनाएको छ। कार्यक्रममा नयाँ प्रविधि, बौद्धिक नेटवर्क र नवीन व्यावसायिक मोडेलबारे ज्ञान तथा अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रममा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले नेपालको डिजिटल इकोसिस्टम नयाँ चरणमा प्रवेश गरिरहेको बताए। कनेक्टिभिटी आर्थिक वृद्धि, नवप्रवर्तन र डिजिटल समावेशिताको आधार बन्दै गएको उनको भनाइ थियो।
प्रयोगकर्ताको अपेक्षा परिवर्तन भइरहेका अवस्थामा इन्टरनेट सेवा प्रदायकले परम्परागत इन्टरनेट कनेक्टिभिटीमा मात्र सीमित नभई बौद्धिक नेटवर्क, एआईमा आधारित सञ्चालन प्रणाली र नयाँ व्यावसायिक मोडेल अपनाउनुपर्ने चेनले बताए।
नेपालको आईएसपी उद्योगलाई प्रविधिगत रूपान्तरणमा सहयोग गर्न ह्वावे नवीन प्रविधि, विश्वव्यापी अनुभव र उद्योगका उत्कृष्ट अभ्याससहित स्थानीय साझेदारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे।
कार्यक्रममा ह्वावे ओभरसिज आईएसपी बिजनेस युनिटका प्रमुख सञ्चालन अधिकृत लरेन्स वुले एआईले इन्टरनेट सेवा उद्योगमा ल्याइरहेको परिवर्तनबारे प्रस्तुति दिएका थिए। उनले उच्च कार्यसम्पादनयुक्त नेटवर्क, कम्प्युटिङ स्रोत र नयाँ डिजिटल सेवाको माग बढ्दै गएको बताए।
नेपालमा तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक विद्युत् लागत र एआईसम्बन्धी उदीयमान अवसरको उपयोग गर्न सके इन्टरनेट सेवा प्रदायकले परम्परागत कनेक्टिभिटी सेवाभन्दा बाहिरका क्षेत्रमा समेत व्यवसाय विस्तार गर्न सक्ने सम्भावना रहेको उनले औँल्याए।
त्यसैगरी, ह्वावे एपीएसीका अप्टिकल निर्देशक एन्डी वुले ‘होम नेटवर्क’ र एआईमा आधारित रणनीतिबारे प्रस्तुति दिएका थिए। उनले भिडियो सर्भिलेन्स र वाइफाइमा आधारित सेवासँगै घरमै उपलब्ध गराइने प्रिमियम इन्टरनेट कनेक्टिभिटी तथा मूल्य अभिवृद्धि सेवाले नेपाली इन्टरनेट सेवा प्रदायकका लागि नयाँ व्यावसायिक अवसर सिर्जना गर्न सक्ने बताए।
यस्ता सेवाले ग्राहकको अनुभव सुधार गर्नुका साथै सेवा प्रदायकको आम्दानीका नयाँ स्रोत विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
ह्वावे एपीएसी आईएसपीका प्रमुख प्राविधिक अधिकृत डेभिड हुले एआईको युगमा परम्परागत इन्टरनेट सेवा प्रदायकबाट व्यवस्थित सेवा प्रदायक मोडेलतर्फ अघि बढ्नुपर्ने विषयमा चर्चा गरेका थिए।
उनले एआईमा आधारित सेवाहरू, मोडेलमा आधारित सेवा र जीपीयूमा आधारित सेवासहित स्टोरेज तथा नेटवर्क पूर्वाधारको स्तरोन्नतिमा रहेका अवसरबारे जानकारी दिएका थिए। यस्ता सेवाले इन्टरनेट सेवा प्रदायकलाई आफ्नो सेवा विविधीकरण गर्न र ग्राहकलाई बौद्धिक डिजिटल समाधान उपलब्ध गराउन सहयोग गर्ने उनले बताए।











प्रतिक्रिया दिनुहोस्