Skip to content

कुनाल कायलको नेतृत्वमा निक्कीमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औं वार्षिक साधारणसभाबाट कुनाल कायलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

सम्पन्न साधारणसभामा निर्वाचन अधिकृतले नयाँ नेतृत्व चयन भएको घोषणा गरेका थिए । उनले यसअघि कायलले निवर्तमान अध्यक्ष सुनील के.सी. को कार्यकालमा उपाध्यक्ष तथा श्रीजना राणाको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका थिए ।

संघको विधानबमोजिम साधारणसभाबाट निर्वाचित ९ सदस्यीय कार्यसमितिपछि बसेको पहिलो बैठकले मनोनयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा करण कुमार चौधरी र गौरव तायल चयन भएका छन् भने महासचिवमा वर्णन लामिछाने तथा कोषाध्यक्षमा शैलजा अधिकारी मनोनित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरूमा सञ्जय अग्रवाल, रमेश शर्मा, शैलेन्द्र गुरागाईं, शशिकान्त अग्रवाल, सुसन कर्माचार्य, विनय उपाध्याय, आशिक श्रेष्ठ र चन्द्र टण्डन छन् । ऊर्जा, उत्पादन, शिक्षा, दूरसञ्चार तथा व्यापार क्षेत्रका व्यावसायिक नेतृत्वहरू समेटिएको यस नयाँ कार्यसमितिले आफ्नो कार्यकालका लागि आर्थिक क्षितिजको विस्तार: द्विपक्षीय व्यापार, लगानी तथा ऊर्जा रूपान्तरणलाई गति प्रदान गर्दै भन्ने मूल नारा तय गरी आगामी कार्यदिशा निर्धारण गरेको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कायललाई अध्यक्षीय सम्मानपत्र प्रदान गरिएको थियो भने निवर्तमान अध्यक्ष के.सी. तथा महानिर्देशक के.एम. सिंहलाई उत्कृष्ट योगदानका लागि प्रशंसास्वरूप सम्मानचिह्न प्रदान गरी सम्मान गरिएको थियो ।

सभामा प्रमुख वक्ताका रूपमा उपस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन विद्यालयका डिन तथा पद्मश्री पुरस्कारबाट सम्मानित प्राध्यापक अमिताभ मट्टुले नेपाल–भारत सम्बन्धको संरचनाबारे विचारोत्तेजक धारणा प्रस्तुत गरे । नयाँ दिल्लीमा गरिने निर्णयहरूको प्रभाव नेपालमा पर्ने उल्लेख गर्दै उनले राज्य सञ्चालनको कलालाई संरचनात्मक सम्झौता तथा समझदारीको व्यवस्थापनका रूपमा व्याख्या गरे । उनले दुई देशबीचको सम्बन्धका पाँचवटा आधारस्तम्भ प्रस्तुत गर्दै नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूमिसञ्जालित सम्बन्धतर्फ अघि बढ्न विशेष आग्रह गरे ।

कार्यक्रमका विशिष्ट वक्ता भारतका लागि नेपालका पूर्वराजदूत डा. शंकरप्रसाद शर्माले निवर्तमान अध्यक्ष के.सी. ले चेम्बरलाई गतिशीलता दिएकोमा आभार व्यक्त गर्दै नेपाल–भारत आर्थिक सम्बन्धका विविध आयाममाथि प्रकाश पारे । भारतको राजनीतिक स्थिरता र तीव्र आर्थिक विकास नेपालका लागि मार्गदर्शक हुनसक्ने बताउँदै उनले पेट्रोलियम पाइपलाइन, नवीकरणीय ऊर्जा तथा भारतको मध्यम वर्गको विस्तारबाट सिर्जना भएका सम्भावनाहरू औंल्याए । साथै, भारतबाट नेपालमा हुने लगानीको गति केही सुस्त रहेको टिप्पणी गर्दै उहाँले लगानी सम्झौतासम्बन्धी नीतिगत रूपरेखा तत्काल तयार गर्नुपर्ने र ऊर्जा, सूचना प्रविधि, पर्यटन एवं जनशक्ति विकासमा सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी भारतीय राजदूतावासका कार्यवाहक राजदूत (निमित्त प्रमुख) डा. राकेश पाण्डेले संघको ३३ वर्षे इतिहास अत्यन्त गर्विलो रहेको चर्चा गर्दै आर्थिक एवं लगानीको क्षेत्रमा भारतीय पक्षहरूसँगको सहकार्य प्रशंसनीय रहेको बताए ।

पछिल्लो एक वर्षको अवधिमा दूतावास र संघबीच अत्यन्त सौहार्दपूर्ण तथा परिणाममुखी सहकार्य भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यो सम्बन्ध अझ फलदायी रहने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–भारत संयुक्त कार्यदलको विषय उठाउँदै व्यवसाय क्षेत्रको सक्रिय सल्लाहकारी भूमिकासहित सरकार र निजी क्षेत्रबीच अझ सुदृढ संवाद हुनुपर्नेमा जोड दिए । उनले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ बनाउन महासंघ निक्कीसँग पूर्ण सहकार्य गर्न तत्पर रहेको स्पष्ट पारे ।

सांसद तथा निक्कीकी स्थायी आमन्त्रित सदस्य विदुषी राणाले एक उद्यमीका रूपमा धारणा राख्दै कोइलाको विकल्पका रूपमा नेपालको स्वच्छ तथा हरित ऊर्जाको विकासबाट दुवै देश लाभान्वित हुन सक्ने र नेपालमा थप संयुक्त लगानीका उद्यमहरू आकर्षित गर्नुपर्ने धारणा राखिन् ।

सन् १९९३ मा प्रभाकर शमशेर ज.ब. राणाको अगुवाइमा नेपाली तथा भारतीय लगानीका उद्योगी–व्यवसायीहरूको संयुक्त प्रयासबाट तदर्थ समिति गठन भई सुरु भएको यस द्विदेशीय उद्योग वाणिज्य संघले तीन दशकभन्दा लामो यात्रा पूरा गरेको छ । नवनिर्वाचित अध्यक्ष कुनाल कायलको नेतृत्वमा संघले आगामी दिनमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीसम्बन्धी रूपरेखा निर्माण गर्ने, ऊर्जा सहकार्य विस्तार गर्ने तथा नीतिगत तहमा व्यवसाय क्षेत्रको आवाजलाई प्रभावकारी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima