Skip to content
Prabhu

बिमा प्राधिकरणको कार्यकारी निर्देशकका लागि तीन उम्मेदवार, कहिले सुरु होला प्रक्रिया ?

 

काठमाडौं । अहिले नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशक पद रिक्त रहेको छ । तत्कालीन कार्यकारी निर्देशक राजुरमण पौडेल सेवा अवधि पुरा गरेर विदा भएसँगै अहिले सो पद रिक्त रहेको छ।

अहिले रिक्त रहेको कार्यकारी निर्देशकमा तीन जना प्रतिस्पर्धी छन् । राजुरमण पौडेले जेठ १२ गते प्राधिकरणमा आफ्नो ३० वर्षे सेवा अवधि पुरा गरेर विदा भएका थिए । कार्यकारी निर्देशक नियुक्तिका लागि अहिले प्रकृया नै सुरु नभएको प्राधिकरणका प्रवक्ता सुशिलदेव सुवेदीले लगानी न्युजलाई जानकारी दिए । ‘अहिले कार्यकारी निर्देशकको पद खाली छ । तर, नयाँ कार्यकारी निर्देशक नियुक्तिको लागि प्रक्रिया सुरु भएको छैन,’ उनले भने ।

अहिले कार्यकारी निर्देशकका लागि तीन जना उम्मेदवार रहेका छन् । तर, अहिले प्रवक्ताको जिम्मेवारीमा रहेका निर्देशक सुवेदीको योग्यता पुग्दैन । कार्यकारी निर्देशक बन्नका लागि पाँच वर्ष निर्देशक पदमा काम गरेको हुनुुपर्ने हुन्छ । सुवेदीले निर्देशकमा पाँच वर्ष पुरा गरेका छैनन् । सुवेदीको निर्देशकमा काम गरेको पाँच वर्ष साउन पुग्छ ।

साउनपछि प्रक्रिया सुरु हुँदा ३ जना र अहिले नै सुरु हुँदा २ जना कार्यकारी निर्देशकको लाइनमा रहने छन् । अहिलेका निर्देशक कमल प्रसाद रेग्मी र पुजन ढुङ्गेल अधिकारी कार्यकारी निर्देशको लाइनमा रहेका छन् । ‘कार्यकारी निर्देशक नितान्त कर्मचारीबाट नै नियुक्त हुन्छ । त्यसमा कार्यसम्पादन र ज्येष्ठतालाई आधार मानिन्छ,’ प्रवक्ता सुवेदीले भने । जेष्ठता र कार्यसम्पादन मूल्यांकनमा जसको नम्बर बढी हुन्छ यसलाई नियुक्त गरिन्छ ।

सुवेदीसँगैको भए पनि महिला र समावेशीको हकमा चार वर्ष निर्देशक भएको व्यक्ति कार्यकारी निर्देशक नियुक्त हुन योग्य हुने भएकाले अधिकारी कार्यकारी निर्देशकका लागि योग्य भएकी हुन् । ज्येष्ठताको आधारमा कमल प्रसाद रेग्मी अघि रहेका छन् । पुजन ढुङ्गेल अधिकारी सुशिलदेव सुवेदी सँगसँगैका हुन् ।

नेपाल बिमा प्राधिकरणको कर्मचारी विनियमावली, २०६८ अनुसार अहिले प्राधिकरणमा नै कार्यरत ३ निर्देशकमध्ये एकजना कार्यकारी निर्देशक हुनेछन् । प्राधिकरणको कार्यकारी निर्देशक अध्यक्षपछिको दोस्रो वरीयता पद हो । प्राधिकरणमा कार्यकारी प्रमुखको रूपमा अध्यक्ष हुन्छन् । त्यसपछि कार्यकारी निर्देशक हुन्छन् । कार्यकारी निर्देशकको मातहतमा चार जना निर्देशक हुन्छन् ।

सुवेदी र अधिकारी निर्देशक भएको चार वर्ष मात्रै पूरा भएको छ । महिला भएका कारण अधिकारीको योग्यता पग्छ भने सुवेदीको योग्यता पुग्नका लागि अझै एक महिना बाँकी रहेको छ । रेग्मी निर्देशक बनेको आठ वर्ष पूरा भइसकेको छ । कर्मचारी सेवा सर्त विनियमावली अनुसार वरिष्ठताका आधारमा कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान भएकाले रेग्मी नै अबको कार्यकारी निर्देशक हुने सम्भावना बढी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal