Skip to content

गोल्याण फाउन्डेसनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

nabil
global ime

काठमाडौं । कुकुर तिहारको अवसर पारेर गोल्याण फाउन्डेसनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु गरेको छ । महानगरपालिका–१०, नयाँवानेश्वरस्थित छक्कुबक्कु टोलबाट अभियानको शुभारम्भ गरिएको हो ।

कुकुर तिहारमा एक दिन फूलमाला लगाएर सम्मान गर्ने परम्परालाई वर्षभरि नै माया, दया र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ अभियान सुरु गरिएको फाउण्डेशनले जनाएको छ । अभियानबाट सामुदायिक कुकुरको स्वास्थ्य र सुरक्षासँगै पशुजन्य रोगको जोखिम न्यूनीकरण, मानव र जनावरबीचको सहअस्तित्व प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

गोल्याण फाउन्डेसनका अनुसार प्रारम्भिक चरणमा तीन महिनाको पाइलट परियोजनाका रूपमा अभियान सञ्चालन हुनेछ ।अभियानअन्तर्गत सामुदायिक कुकुरलाई पौष्टिक खाना खुवाउने, आवश्यक खोप लगाउने र तिनीहरुको स्वास्थ्य र संरक्षणबारे जनचेतना अभिवृद्धि गरिनेछ ।

साथै, यस पाइलट परियोजना अवधिभर सामुदायिक कुकुरहरूको वास्तविक तथ्यांक, तिनीहरूको स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने लागत र स्थानीय सहकार्यको प्रभावकारिता परीक्षण गरी अध्ययन गरिनेछ । यसरी प्राप्त तथ्यांकका आधारमा भविष्यमा यस्ता अभियानलाई दीगो र वैज्ञानिक बनाउने ठोस ढाँचा तयार गरिने फाउन्डेसनले जनाएको छ ।

अभियानको शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले मान्छेको असल साथी र समुदायको सुरक्षा पहरेदार रहेको कुकुरप्रतिको सम्मानमा मानवीयता झल्किएको बताइन् । यो अभियान सुरू गरेर गोल्याण फाउन्डेसनले पशुप्रति उच्च मानवता प्रकट गरेको छ, सामुदायिक कुकुरको सम्मानले समुदायलाई समेत जिम्मेवार बनाएको छ, उनले भनिन् ।

गोल्याण ग्रुप तथा गोल्याण फाउन्डेसनका अध्यक्ष अक्षय गोल्याणले समुदायको असल साथी र बफादार सुरक्षापालक कुकुरको सुरक्षा र सम्मानमा अभियानले टेवा पुर्‍याउने बताए । सम्मान गर्नलायक भएरै वर्षमा एक दिन कुकुरको पूजा गर्ने सांस्कृतिक परम्परा रहेको छ, यस्तो सम्मान र माया एक दिनमात्र होइन हरेक दिन गर्नुपर्छ भनेर अभियान थालिएको हो, उनले भने ।

गोल्याण फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले सडक तथा सार्वजनिक क्षेत्रमा आश्रित कुकुरको आधारभूत आवश्यकता पूरा गर्न र उनीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन अभियानले भूमिका खेल्ने बताइन् । तीनमहिने पाइलट परियोजनाबाट प्राप्त अनुभव र उपलब्धिका आधारमा आगामी दिनमा अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ ।

यो सहर–सडकमा सबैको उत्तिकै आफ्नोपन छ, जुन वास्तविकतालाई हामीले आत्मसात गर्नुपर्दछ, उनले भनिन्, गोल्याण फाउण्डेशनले सुरू गरेको अभियानले यही भावना बोकेको छ । गैह्रेले पशुप्रेमी नभएका वा कुकुरसँग डराउने नागरिकहरूलाई समेत सकारात्मक अपिल गर्दै थपिन्, सबैले कुकुरलाई माया गर्नैपर्छ भन्ने छैन, तर कम्तीमा ढुंगा नहान्न, दुर्व्यवहार नगर्न र खुवाउने स्वयंसेवकहरूलाई अवरोध नगर्न हामी सम्पूर्ण समुदायसँग आग्रह गर्दछौँ ।

फाउण्डेशनले यस अभियानमा काठमाडौं महानगरपालिका र वडा नं. १० कार्यालयसँग समन्वय गरेको छ । अभियान सञ्चालनको लागि फाउण्डेशनका आफ्नै समर्पित स्वयंसेवक तथा साझेदारहरू खटिनेछन् । स्वयंसेवकहरूले आफ्नो तोकिएको क्षेत्रभित्रका सामुदायिक कुकुरलाई दैनिक एक छाक भात–मासुसहितको पोषिलो खानेकुरा दिनेछन् । त्यसैगरी भेटेरिनरी टोली र विशेषज्ञहरूबाट नियमित स्वास्थ्य परीक्षण र आवश्यकताअनुसार खोप लगाइनेछ ।

फाउन्डेसनले वडा नम्बर १० क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक कुकुरहरुलाई रेबिज, डिस्टेम्पर र क्यानिन केरेना भाइरस खोप लगाउने जिम्मेवारी लिएको छ । महानगरको समन्वयमा खोप अभियान सुरू गरिनेछ । यसका अतिरिक्त कुकुरहरूको नियमित स्वास्थ्य परीक्षणसमेत गरिनेछ । जुका, लुतो, एलर्जीजस्ता रोगको पहिचान गरि उपचार पनि गरिने फाउण्डेशनले जनाएको छ ।

अभियानमा समेटिएका र खोप लगाएका सामुदायिक कुकुरलाई पहिचान संकेत (रिफ्ल्याक्टिङ कलर) प्रदान गरिने छ । यसले रातिको समयमा पनि कुकुरलाई देख्न सकिने हुँदा सडक दुर्घटनाको जोखिम पनि घट्ने विश्वास लिइएको छ । पहिचान संकेतको आधारमा कार्यक्षेत्रमा रहेका कुकुरको संख्या गणना, खाना तथा खोपको व्यवस्थापन, सुरक्षा सतर्कतामा सहज हुने गोल्याण फाउण्डेशनले जनाएको छ ।

गोल्याण ग्रुप र गोल्याण फाउन्डेसन सामाजिक कल्याण र सामुदायिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन् । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि फाउन्डेसनले नुवाकोटको विदुरस्थित श्री चन्द्रज्योति माध्यमिक विद्यालयमा अस्थायी आश्रय केन्द्र सञ्चालन गरी विस्थापित परिवारहरूलाई आश्रय, खाना, राहत सामग्री र मनोसामाजिक परामर्श उपलब्ध गराएको थियो ।

यरैगरी, जेनजी आन्दोलनका शहीद परिवारका बालबालिकाको शिक्षा र ज्येष्ठ सदस्यहरूको स्वास्थ्य उपचारमा सहयोग गरिँदै आएको छ । ‘कुकुर तिहार, हरेक दिन’ अभियान समुदायप्रतिको यही निरन्तर प्रतिबद्धताको अर्को कडी हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T