काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ।
इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण इन्धन आपूर्तिमा समस्या उत्पन्न भएपछि म्यानमारको मध्य क्षेत्रमा रहेको साना तथा अनौपचारिक तेल उत्खनन केन्द्रहरू विद्रोही र सरकारी सेनाबीचको द्वन्द्वको नयाँ निशाना बनेका छन्।
म्यानमारमा साना स्तरमा कच्चा तेल उत्खनन गर्ने कामदारहरू अहिले दुवैतर्फबाट हुने आक्रमणको जोखिममा छन्। बढ्दो इन्धन मूल्यका कारण सामान्य रूपमा सञ्चालन हुँदै आएका यी तेल उत्खनन केन्द्र आर्थिक रूपमा महत्त्वपूर्ण बन्दै गएपछि विद्रोही र सैनिक दुवै पक्षले तिनलाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेका छन्।
म्यानमारको सुक्खा मध्य भूभागमा रहेको एउटा अनौपचारिक तेल उत्खनन केन्द्रमा काम गर्ने ५२ वर्षीय ह्तुन आङले आफूहरू निरन्तर जोखिममा रहेको बताएका छन्। सुरक्षाका कारण आफ्नो वास्तविक नाम सार्वजनिक नगर्ने सर्तमा उनले भनेका छन्, ‘हामी यहाँ काम गरुन्जेल दुर्भाग्यले हाम्रो ज्यान लिन सक्छ। तर मृत्युको वास्तविकता सामना गर्नुभन्दा जीविकोपार्जन गर्नु अझ कठिन छ।’
आधिकारिक तथ्यांकअनुसार म्यानमारले आफ्नो कुल इन्धन तेल आवश्यकताको करिब ९० प्रतिशत आयात गर्छ। त्यसैले इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण विश्वव्यापी आपूर्ति शृङ्खलामा परेको प्रभावबाट म्यानमार बढी प्रभावित भएको छ।
म्यानमारको मध्य क्षेत्रमा पर्ने मग्वे प्रान्तमा भने साना स्तरमा कच्चा तेल उत्खनन गर्ने अनौपचारिक उद्योग सञ्चालनमा छ। त्यहाँ स्थानीय कामदारहरूले पुराना र फोहोर तेल उत्खनन उपकरणको प्रयोग गरी थोरै परिमाणमा कच्चा तेल निकाल्दै आएका छन्।
यस क्षेत्रलाई ‘अन्यार दुबई’ नामले समेत चिनिन्छ। तेल उत्पादनका लागि विश्वप्रसिद्ध संयुक्त अरब इमिरेट्सको दुबईसँग तुलना गर्दै स्थानीयले यो नाम दिएका हुन्। तर दुबईको तेल उद्योगसँग तुलना गरिए पनि यहाँ काम गर्ने ह्तुन आङजस्ता कामदारले सातामा मुस्किलले ५० अमेरिकी डलर कमाउँछन्। उनीहरू दिनभर कच्चा तेल मिसिएको फोहोर पानी र लेदोमा भिजेर काम गर्न बाध्य छन्।
म्यानमारका पेट्रोल पम्पमा इन्धनको मूल्य फेब्रुअरीको अन्त्यतिरको तुलनामा झन्डै दोब्बर पुगेको छ। यस्तो अवस्थामा जमिनमुनि रहेको ‘कालो सुन’ अर्थात् कच्चा तेल युद्धरत पक्षका लागि झनै आकर्षक सम्पत्ति बनेको छ।
‘हामी केवल शान्तिपूर्वक बाँच्न चाहन्छौँ। तर अहिले एकातिरबाट आक्रमण हुन्छ, अर्कोतिरबाट पनि आक्रमण हुन्छ। उनीहरू एकअर्कालाई निरन्तर आक्रमण गरिरहेका छन्,’ ह्तुन आङले भने।
उनका अनुसार पटक–पटक आक्रमण भएपछि स्थानीय कामदारहरू आफ्नो बासस्थान र कार्यस्थल छाडेर भाग्न बाध्य भएका छन्। ‘हामी तीन, चार, पाँच पटकसम्म भागिसकेका छौँ। कहिले यहाँ भाग्छौँ, कहिले त्यहाँ। मोटरसाइकलमा इन्धन भरेर फेरि भाग्नुपर्छ,’ उनले बताए।
तेल क्षेत्र कब्जा गर्न विद्रोहीको संघर्ष
सन् २०२१ मा भएको सैनिक ‘कू’पछि म्यानमारमा सुरु भएको देशव्यापी गृहयुद्ध अहिले पनि जारी छ। प्रजातन्त्र समर्थक विद्रोही समूहहरूले सन् २०२३ देखि मग्वे प्रान्तको म्याइङ टाउनसिपमा रहेका तेल उत्खनन क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएका छन्।
विद्रोहीहरू इरावदी नदीको पश्चिमतर्फ फैलिएको धुलाम्मे क्षेत्रमा समूह बनाएर गस्ती गर्छन्। उनीहरू रकेट प्रहार गर्न मिल्ने ग्रेनेड, सुरक्षात्मक ज्याकेट, झोला र सामान्य चप्पल लगाएर सुरक्षा गतिविधिमा संलग्न हुने गरेका छन्।
द्वन्द्वसम्बन्धी घटनाको अनुगमन गर्ने संस्था एसीएलईडीका अनुसार म्याइङ क्षेत्रमा सन् २०२६ को सुरुदेखि हालसम्म भएका हवाई तथा ड्रोन आक्रमणको संख्या सन् २०२५ भरिको कुल संख्याभन्दा बढी भइसकेको छ। उक्त संस्थाले सन् २०२१ को सैनिक विद्रोहपछि म्यानमारमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेको छ।
विद्रोहीहरूले हजारौँ तेल इनारबीच लुकेर सुरक्षा रणनीति अपनाउँदै आएका छन्। ती इनारहरू लामो समयदेखि कुनै नियमनबिना सञ्चालन हुँदै आएका छन्। जमिनमा खनिएका प्वालभित्र दर्जनौँ मिटर गहिराइसम्म पाइप पुर्याएर इन्जिनको सहायताले कच्चा तेल निकालिन्छ।
तेल उत्खननका लागि स्थानीय व्यवसायीले जग्गाधनीलाई एउटा स्थान भाडामा लिन ३ हजार ५०० अमेरिकी डलरसम्म तिर्ने गरेको एक अनुभवी व्यवसायीले बताएका छन्। यद्यपि, उक्त स्थानमा तेल भेटिन्छ भन्ने कुनै निश्चित हुँदैन।
कतिपय इनारबाट थोरै मात्र तेल निस्कन्छ भने केहीबाट ठूलो परिमाणमा तेल प्राप्त हुन्छ। निकालिएको तेल त्रिपालले छोपिएका खाडल र ड्रममा जम्मा गरिन्छ। त्यसपछि अस्थायी रूपमा सञ्चालन गरिएका प्रशोधन केन्द्रमा लगेर पेट्रोल र डिजेल बनाउने गरिन्छ।
म्यानमारको सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा पेट्रोल वितरणमा समेत कोटा प्रणाली लागू भइरहेका बेला ‘अन्यार दुबई’ क्षेत्रमा पर्याप्त तेल उपलब्ध हुन थालेपछि यो क्षेत्र चर्चामा आएको विद्रोही प्रवक्ता प्ये फ्यो च्योले बताएका छन्।
उनले पछिल्लो समय विद्रोहीहरूले सरकारी सेनाको अग्रगमन रोक्न सफल भएको दाबी गरे पनि सेनाका जवाफी आक्रमणबाट आफूहरू प्रभावित भएको स्वीकार गरेका छन्।
‘हामी यसलाई मुख्य रूपमा हाम्रो बलियो आपूर्ति मार्ग र आम्दानीको स्रोत ध्वस्त पार्ने प्रयासका रूपमा हेर्छौँ,’ ३५ वर्षीय विद्रोही प्रवक्ता च्योले भने। यस विषयमा प्रतिक्रिया लिन खोज्दा म्यानमारको सेनासँग सम्पर्क हुन नसकेको समाचारमा उल्लेख छ।
तर गत सेप्टेम्बरमा म्यानमारको सेनाले एक महिना लामो सैन्य अभियान सञ्चालन गरी म्याइङ क्षेत्रमा रहेका १३० भन्दा बढी तेल इनार र छिमेकी पाकोक्कु टाउनसिपका थप ७३५ तेल इनार कब्जा गरेको दाबी गरेको थियो।
तेल कारोबारबाट युद्धका लागि आर्थिक स्रोत
सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा दर्जनौँ प्रजातन्त्र समर्थक समूह र जातीय अल्पसङ्ख्यक सशस्त्र संगठनहरू सैनिक शासनविरुद्ध लडिरहेका छन्।
लामो समयदेखि जारी युद्धमा सबै पक्षले प्राकृतिक स्रोतको कर तथा व्यापारबाट युद्ध सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने प्रयास गरिरहेका छन्। बहुमूल्य रत्नका खानी, दुर्लभ खनिज, सुन र सागवान काठजस्ता प्राकृतिक स्रोत युद्धरत पक्षका लागि आम्दानीका प्रमुख माध्यम बनेका छन्।
सामान्यतया म्यानमारका ठूला तेल परियोजनामा भने प्रत्यक्ष प्रतिस्पर्धा कम हुने गरेको छ। ती परियोजनामा सेनाको कडा सुरक्षा रहने गरेको छ। अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार म्यानमारमा गत वर्ष दैनिक करिब ६ हजार ब्यारेल मात्रै कच्चा तेल उत्पादन भएको थियो। अन्तर्राष्ट्रिय मापदण्डका हिसाबले यो उत्पादन निकै सानो हो।
तर साना तथा अनौपचारिक तेल उत्खनन क्षेत्र विद्रोहीका लागि विशेष महत्त्वका बनेका छन्। अन्तर्राष्ट्रिय संकट समूहका म्यानमारसम्बन्धी वरिष्ठ परामर्शदाता थोमस किनका अनुसार यस्ता तेल क्षेत्रको महत्त्व तिनको उत्पादन विश्व बजारका लागि ठूलो हुनुमा होइन, बरु सानो आकारका कारण सरकारी निगरानीबाट बाहिर रहेर सञ्चालन हुन सक्नुमा छ।
‘यी तेल क्षेत्र महत्त्वपूर्ण हुनुको एउटा कारण नै यिनीहरू विश्वव्यापी रूपमा ठूलो उत्पादन गर्ने केन्द्र होइनन् भन्ने हो,’ उनले भने। उनका अनुसार सानो आकारका कारण यस्ता उत्खनन केन्द्रले सरकारी निगरानीबाट जोगिएर काम गर्न सक्छन्। तर तिनबाट प्राप्त हुने आम्दानी विद्रोही समूहको सैन्य गतिविधि सञ्चालन गर्न पर्याप्त हुन्छ।
किनका अनुसार विश्व बजारमा तेलको मूल्य बढ्दैमा म्यानमारको द्वन्द्व प्रत्यक्ष रूपमा चर्किएको भन्न मिल्दैन। तर सरकारले देशको मध्य भागमा विद्रोहीहरूको पकड कमजोर बनाउन उनीहरूका आर्थिक स्रोत र आम्दानीका मार्गमाथि दबाब बढाइरहेको छ।
यद्यपि, युद्धबाट प्राप्त हुने आर्थिक लाभ बढ्दै जाँदा तेल क्षेत्रमाथिको नियन्त्रणको महत्त्व पनि बढ्दै गएको छ। ‘हामी यी तेल क्षेत्रबाट वार्षिक लाखौँ ब्यारेल कच्चा तेल उत्पादन भइरहेको विषयमा कुरा गरिरहेका छौँ,’ उनले भने, ‘विश्व बजारमा अहिले तेलको मूल्य जुन अवस्थामा छ, त्यसअनुसार यो निकै ठूलो रकम हो।’
यसरी मध्यपूर्वको युद्धले सिर्जना गरेको विश्वव्यापी ऊर्जा संकटले म्यानमारको इन्धन आपूर्तिमा मात्र प्रभाव पारेको छैन, देशभित्रै रहेका साना तेल उत्खनन केन्द्रलाई गृहयुद्धको आर्थिक तथा रणनीतिक प्रतिस्पर्धाको महत्त्वपूर्ण केन्द्रसमेत बनाएको छ।









प्रतिक्रिया दिनुहोस्