काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरूलाई सम्मान गरेका हुन् ।
सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । प्रतिकूल परिस्थितिमा समेत व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पुरर्याउनुका साथै रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै भाटभटेनीलाई विशेष सम्मान प्रदान गरिएको हो ।
सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर योगदान गर्ने व्यक्ति तथा विभिन्न क्षेत्रका १५ करदाता व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीतर्फ सूर्य नेपाल प्रालि सम्मानित भएको छ भने एकलौटी फर्मतर्फ थर्ड आई संस्थाका सञ्चालक सम्मानित भएका छन् ।
त्यस्तै, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि तथा कृषि एवं पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी एन्ड फुड्स फिड्स प्रालि सम्मानित भएका छन् ।
बैंकिङ क्षेत्रतर्फ नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटन व्यवसायतर्फ सोल्टी होटल सम्मानित भएका छन् । वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि तथा ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने संस्थातर्फ फुड एन्ड बेभरेज टेक्नोलोजी सम्मानित भएको छ ।
ऊर्जा क्षेत्रतर्फ भोटेकोसी हाइड्रोपावर र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेडले सम्मान प्राप्त गरेका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने संस्थाका रूपमा हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ ।
५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातातर्फ इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगतर्फ वरुण बेभरेज, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त सम्मानित भएका छन् ।
सरकारले विभिन्न क्षेत्रका करदातालाई सम्मान गर्दै मुलुकको आर्थिक विकास तथा राजस्व संकलनमा निजी क्षेत्रको योगदानको कदर गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्