Skip to content

राष्ट्रपति रामचन्द्र पौडेलले गरे नेपाली सेनाको प्रशंसा

nabil
global ime

बागमती । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीसँगै मुलुकको सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा गरेका छन् ।

सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडकअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको (३.३९९मिटर)को ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजनादेखि विशेष प्रकृतिका सुरुङ र पुल निर्माणमा सेना अहोरात्र क्रियाशील रहेको बताए ।

उनले भने, “विशेषगरी विकट भौगोलिक अवस्था, जटिल भू–बनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय छ ।”

राष्ट्रपति पौडेलले काठमाडौँ उपत्यकालाई तराई-मधेससँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्गको निर्माणपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले भने, “यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुन्छ, त्यसबाट इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुनेछ, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार र सेना दृढ रहेको पाएको छु ।”

आयोजनाको महत्व केबल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभएको जनाउँदै उनले राजधानी काठमाडौँ र तराई-मधेसबीचको भौगोलिक दूरी घटाउने तथा सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले भने, “पर्यटन प्रर्वद्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्वपूर्ण रहने अपेक्षा छ, आयोजना निर्माणमा कुनै कसर बाँकी नराखी प्रभावकारी समन्वय र जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T