काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
राष्ट्र बैंकका अनुसार चालु आवको तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि ३५.४ प्रतिशत थियो।
असोजमा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ भित्रिएको थियो। गत आर्थिक वर्षको असोजमा भने २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।
अमेरिकी डलरमा हिसाब गर्दा समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि २९।२ प्रतिशत थियो।
यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो।
कति नेपालीले लिए श्रम स्वीकृति ?
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि १ लाख २१ हजार ८ सय ७९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्। यसमा संस्थागत तथा व्यक्तिगत दुवै प्रकारका नयाँ श्रम स्वीकृति समावेश छन्।
यस्तै, सोही अवधिमा ८२ हजार ३ सय ६९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४ सय ५९ थियो भने पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २ सय ५७ थियो।
यस तथ्यांकअनुसार नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बढेको छ।









प्रतिक्रिया दिनुहोस्